गोविन्दराज पहारी
मंसिरको शुरूको शीतलतासँगै ताल वाराही माध्यमिक विद्यालयको व्यवस्थापन समितिको नेतृत्व सम्हाल्दा मनमा एउटा फरक हुटहुटी र विद्यालयलाई नयाँ उचाइमा पुर्याउने दृढ संकल्प थियो। नेतृत्वको अवधि केवल छ महिनामा सीमित भए पनि त्यो समयलाई अत्यन्त अर्थपूर्ण, सक्रिय र परिणाममुखी बनाउन सकिन्छ भन्ने विश्वाससहित काम अघि बढाइयो। सामाजिक कार्यप्रतिको लगावका लागि यो समय छोटो भए पनि कुनै पनि क्षण खेर नफाली विद्यालयको समग्र विकासमा केन्द्रित रहियो। आज फर्केर हेर्दा यो छ महिनाको अवधि केवल एउटा कार्यकाल होइन, बरु कर्म, सहकार्य र रूपान्तरणको एउटा महत्वपूर्ण यात्रा बनेको छ।
यस यात्राको शुरूआत विद्यालयको सम्पत्ति संरक्षण र सौन्दर्यीकरणबाट भयो। समितिको पहिलो बैठकमै लामो समयदेखि बेवारिसे र असुरक्षित अवस्थामा रहेको डिहीको पाटनस्थित विद्यालयको जग्गा तारबार गर्ने निर्णय गरियो। स्थानीय टोल विकास संस्था, छिमेकी, अभिभावक तथा समुदायको स्वस्फूर्त श्रमदान र सहकार्यले उक्त जग्गा सुरक्षित गर्न सकियो। यसले भविष्यमा खेलमैदान तथा पूर्वाधार विस्तारका लागि बलियो आधार तयार गर्यो।
त्यसपछि जीर्ण अवस्थामा रहेका विद्यालयका भवनहरूलाई दाताहरूको सहयोग र शिक्षक–कर्मचारीहरूको सामूहिक प्रयासबाट मर्मत गरी रंगरोगन गरियो। यसले विद्यालयलाई सफा, बालमैत्री र आकर्षक स्वरूप प्रदान गर्यो। यही कार्यकालभित्र पुस १४ गतेको भव्य स्थापना दिवसका अवसरमा पूर्व अध्यक्षहरूलाई मरणोपरान्त सम्मान तथा उत्कृष्ट शिक्षक-कर्मचारीलाई कदरपत्र प्रदान गरियो। यसले विद्यालयको इतिहास र वर्तमानलाई एउटै सूत्रमा जोड्ने महत्वपूर्ण काम गर्यो।
यस अवधिको सबैभन्दा महत्वपूर्ण उपलब्धि विद्यालयमा छात्रावासको ऐतिहासिक सुरुआत हो। टाढाबाट आउने, विपन्न तथा शैक्षिक रूपमा विशेष सहयोग आवश्यक भएका विद्यार्थीहरूका लागि ओछ्यान, बाथरूम र शौचालयसहितको व्यवस्थित छात्रावास सञ्चालन गरियो। यसको दीर्घकालीन व्यवस्थापनका लागि ‘फुड बैंक’ को अवधारणा अघि सारियो। समुदाय, संघसंस्था तथा सहयोगी व्यक्तिहरूबाट प्राप्त खाद्यान्न सहयोगले विद्यालय र समाजबीचको सम्बन्धलाई अझ सुदृढ बनायो। छात्रावासमा बस्ने विद्यार्थीहरूको शैक्षिक नतिजा पनि सन्तोषजनक रह्यो, जसले यस पहलको प्रभावकारिता प्रमाणित गर्यो।
यसका साथै पुसको कठ्याङ्ग्रिने चिसोबाट विद्यार्थीहरूलाई जोगाउन करिब तीन लाख रुपैयाँ बराबरका न्यानो स्वेटर वितरण गरियो। पिउने पानीका लागि दैनिक तीन हजार रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता अन्त्य गर्न ५ लाख ६४ हजार रुपैयाँको लगानीमा बोरिङ र थप ५ लाख रुपैयाँको आधुनिक फिल्टर प्रणाली जडानको प्रक्रिया अघि बढाइयो।
शिक्षालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन विद्यालयमा पहिलोपटक डिजिटल बोर्ड (स्मार्ट बोर्ड) जडान गरियो तथा शिक्षकहरूलाई प्रविधिमैत्री तालिम प्रदान गरियो। प्रारम्भिक तह (नर्सरीदेखि कक्षा ३ सम्म) को शैक्षिक जग मजबुत बनाउन प्रसिद्ध संस्था (ECEC) सँग तीन लाख रुपैयाँको लगानीमा एक वर्षे शिक्षक तालिमको सम्झौता गरियो, जसका लागि थप २ लाख ५० हजार रुपैयाँ बराबरको स्रोत सामग्री व्यवस्थापन पनि गरिएको छ। यसले विद्यालयको शैक्षिक आधारलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।
छ महिनाको यस कार्यकालले विद्यालयमा एउटा बलियो र गतिशील आधार तयार गरेको छ। सोही आधारमा भविष्यका लागि थप महत्वपूर्ण र आधुनिक परियोजनाहरू पनि अघि बढिरहेका छन्। विद्यार्थीहरूको स्वास्थ्य र सरसफाइलाई ध्यानमा राख्दै सुविधासम्पन्न र अत्याधुनिक भान्सा निर्माण कार्य अघि बढ्ने तयारी छ। प्रविधिमैत्री शिक्षालाई विस्तार गर्न थप अर्को डिजिटल बोर्ड जडानको प्रक्रिया अगाडि बढाइएको छ।
शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि करिब ६ लाख ४० हजार रुपैयाँ बराबरका ८ वटा ल्यापटप उपलब्ध गराउने प्रक्रिया पाइपलाइनमा रहेको छ। छात्रा विद्यार्थीहरूको स्वास्थ्य र सरसफाइलाई ध्यानमा राख्दै विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडानको तयारी भइरहेको छ। बाँकी रहेका शिक्षक तालिमहरूलाई निरन्तरता दिई चाँडै सम्पन्न गर्ने योजना पनि रहेको छ।
सबैभन्दा महत्वपूर्ण कुरा, प्रारम्भिक बाल विकास कक्षाको सिकाइलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी दुई वर्षसम्मका लागि पूर्ण रूपमा तालिमप्राप्त शिक्षक अनुदानस्वरूप प्राप्त हुने व्यवस्था हुँदैछ। यसले साना बालबालिकाको सिकाइमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ।
यी छ महिनामा हासिल भएका उपलब्धिहरू र भविष्यका लागि तयार गरिएको मार्गचित्र कुनै एक व्यक्तिको मात्र प्रयासबाट सम्भव भएको होइन। यसमा दिनरात नभनी खटिनु हुने आदरणीय शिक्षक–शिक्षिका, कर्मचारी, भूतपूर्व विद्यार्थी एसोसिएशन, पर्यटन व्यवसायी, सल्लाहकार, नागरिक समाज, टोल विकास संस्था, छिमेकी, अभिभावक, विद्यार्थी तथा सम्पूर्ण सहयोगी दाताहरूको सामूहिक योगदान रहेको छ। सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु।
आज विद्यालय व्यवस्थापन समितिको निवर्तमान अध्यक्षको रूपमा रहँदा पदमा रहनु वा नरहनुले विद्यालय र समाजप्रतिको मेरो दायित्व घटाउने छैन। आगामी दिनमा पनि यो शैक्षिक संस्थाको शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार विकास र विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि म निरन्तर रूपमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु।
ताल वाराही माध्यमिक विद्यालयलाई पोखराकै एक उदाहरणीय शैक्षिक केन्द्रका रूपमा स्थापित गर्ने हाम्रो साझा यात्रा निरन्तर अघि बढिरहनेछ।
(लेखक पहारी विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हुन् ।)




