गोविन्दराज पहारी
मंसिरको प्रारम्भिक शीतलता, पहाडको हल्का चिसो हावा र बिहानको कुहिरोबीच ताल वाराही माध्यमिक विद्यालयको व्यवस्थापन समितिको नेतृत्व सम्हाल्दा मनभित्र एउटा छुट्टै हुटहुटी थियो—विद्यालयलाई केवल संरचनात्मक रूपमा होइन, सोच, संस्कार र सम्भावनाको दृष्टिले पनि नयाँ उचाइमा पुर्याउने दृढ संकल्प। नेतृत्वको अवधि छ महिनामा सीमित भए पनि, समयको छोटोपनलाई चुनौतीका रूपमा होइन, अवसरका रूपमा स्वीकार गरियो। हरेक दिनलाई अर्थपूर्ण बनाउने, हरेक निर्णयलाई परिणाममुखी बनाउने र हरेक क्षणलाई रूपान्तरणको दिशामा प्रयोग गर्ने अठोटसहित यात्रा अघि बढ्यो। आज फर्केर हेर्दा यो छ महिनाको अवधि केवल एउटा प्रशासनिक जिम्मेवारीको अभ्यास मात्र नभई कर्म, सहकार्य, विश्वास र रूपान्तरणको एउटा गहिरो अनुभव बनेको अनुभूति हुन्छ।
यस यात्राको पहिलो पाइला विद्यालयको सम्पत्ति संरक्षण र सौन्दर्यीकरणतर्फ मोडियो। लामो समयदेखि बेवारिसे र असुरक्षित अवस्थामा रहेको डिहीको पाटनस्थित विद्यालयको जग्गालाई सुरक्षित बनाउन पहिलो बैठकमै तारबार गर्ने निर्णय गरियो। निर्णय मात्र होइन, त्यसलाई व्यवहारमा उतार्ने क्रममा स्थानीय टोल विकास संस्था, छिमेकी, अभिभावक र समुदायको सक्रिय सहभागिता उल्लेखनीय रह्यो। श्रमदानको सामूहिक भावनाले त्यहाँ केवल तारबार मात्र उभ्याएन, विद्यालयप्रति समुदायको अपनत्व पनि अझ बलियो बनायो। भविष्यमा खेलमैदान तथा पूर्वाधार विस्तारका लागि यही जग्गा एउटा आधारशिला बन्ने विश्वास अझ प्रबल भयो।
त्यसपछि विद्यालयका जीर्ण भवनहरूको पुनर्जीवनको काम अघि बढ्यो। समयले खिईएका पर्खालहरूलाई रंगरोगनले पुनः जीवन्त बनाइयो। दाताहरूको सहयोग, शिक्षक–कर्मचारीहरूको अथक प्रयास र समुदायको सहकार्यले विद्यालयलाई नयाँ स्वरूप प्रदान गर्यो। विद्यालय केवल पढाइ हुने स्थान मात्र नभई बालमैत्री, सफा र प्रेरणादायी वातावरण भएको केन्द्र बन्ने दिशामा अघि बढ्यो। यही कार्यकालमा पुस १४ गतेको स्थापना दिवसलाई अझ अर्थपूर्ण बनाउन पूर्व अध्यक्षहरूलाई मरणोपरान्त सम्मान र उत्कृष्ट शिक्षक–कर्मचारीलाई कदरपत्र प्रदान गरियो। यसले विद्यालयको इतिहास, योगदान र वर्तमान जिम्मेवारीलाई एउटै सूत्रमा बाँध्ने काम गर्यो।
यस छ महिनाको यात्रामा सबैभन्दा ऐतिहासिक उपलब्धि भनेको विद्यालयमा छात्रावासको सुरुआत हो। टाढा–टाढाबाट आउने, आर्थिक रूपमा कमजोर तथा विशेष शैक्षिक सहयोग आवश्यक पर्ने विद्यार्थीहरूका लागि सुरक्षित आवासको व्यवस्था गर्नु केवल संरचना निर्माण होइन, आशाको नयाँ ढोका खोल्नु थियो। ओछ्यान, बाथरूम र शौचालयसहितको व्यवस्थित छात्रावास सञ्चालनमा आएपछि ती विद्यार्थीहरूको अनुहारमा देखिएको आत्मविश्वास नै यस पहलको सबैभन्दा ठूलो सफलता बन्यो। यसको दीर्घकालीन व्यवस्थापनका लागि ‘फुड बैंक’ को अवधारणा अघि सारियो, जसले समुदाय, संघसंस्था र सहयोगी मनहरूलाई एउटै साझा जिम्मेवारीमा बाँध्यो। छात्रावासमा बस्ने विद्यार्थीहरूको शैक्षिक प्रगति सन्तोषजनक रहनु यस प्रयासको प्रभावकारिताको स्पष्ट प्रमाण बन्यो।
चिसो मौसमको कठोरता विद्यार्थीहरूको दैनिक जीवनमा बाधा नबनोस् भन्ने उद्देश्यले करिब तीन लाख रुपैयाँ बराबरका न्यानो स्वेटर वितरण गरियो। यसले केवल शरीर मात्र होइन, मनलाई पनि न्यानो बनायो। त्यस्तै, विद्यालयमा पिउने पानीको दीर्घ समस्या समाधान गर्न ५ लाख ६४ हजार रुपैयाँको बोरिङ तथा ५ लाख रुपैयाँको आधुनिक फिल्टर प्रणाली जडान प्रक्रिया अघि बढाइयो। स्वच्छ पानी केवल सुविधा होइन, स्वास्थ्य र भविष्यको आधार हो भन्ने बुझाइसँगै यो कार्य अघि बढाइएको हो।
शिक्षालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन विद्यालयमा पहिलोपटक डिजिटल बोर्ड (स्मार्ट बोर्ड) जडान गरियो। यससँगै शिक्षकहरूलाई प्रविधिमैत्री तालिम प्रदान गरियो, जसले शिक्षण शैलीमा नयाँ ऊर्जा थप्यो। प्रारम्भिक तह (नर्सरीदेखि कक्षा ३ सम्म) को शैक्षिक जग मजबुत बनाउन प्रसिद्ध संस्था ECEC सँग एक वर्षे शिक्षक तालिमका लागि सम्झौता गरियो। यसका लागि आवश्यक स्रोत सामग्री व्यवस्थापनसमेत गरिएको छ, जसले प्रारम्भिक शिक्षालाई दीर्घकालीन रूपमा सुदृढ बनाउने अपेक्षा गरिएको छ।
छ महिनाको यस छोटो तर अर्थपूर्ण कार्यकालले विद्यालयभित्र एउटा बलियो आधार निर्माण गरेको छ। यही आधारमा टेकेर भविष्यका लागि अझ आधुनिक र दूरदर्शी योजनाहरू अघि बढिरहेका छन्। विद्यार्थीहरूको स्वास्थ्य र सरसफाइलाई ध्यानमा राख्दै सुविधासम्पन्न आधुनिक भान्सा निर्माणको तयारी छ। प्रविधिमैत्री शिक्षालाई विस्तार गर्न थप डिजिटल बोर्ड जडानको प्रक्रिया अगाडि बढाइएको छ।
त्यस्तै, शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि करिब ६ लाख ४० हजार रुपैयाँ बराबरका आठ थान ल्यापटप उपलब्ध गराउने प्रक्रिया अघि बढिरहेको छ। छात्रा विद्यार्थीहरूको स्वास्थ्य र मर्यादालाई ध्यानमा राख्दै स्यानिटरी प्याड भेन्डिङ मेसिन जडानको तयारी पनि गरिएको छ। बाँकी रहेका शिक्षक तालिमहरूलाई निरन्तरता दिँदै समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सबैभन्दा महत्वपूर्ण कुरा, प्रारम्भिक बाल विकास कक्षाको सिकाइलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले आगामी दुई वर्षसम्म पूर्ण रूपमा तालिमप्राप्त शिक्षक अनुदानस्वरूप उपलब्ध गराउने व्यवस्था हुँदैछ। यसले साना बालबालिकाको सिकाइमा दीर्घकालीन र गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
यी सबै उपलब्धिहरू कुनै एक व्यक्तिको मात्र प्रयासले सम्भव भएका होइनन्। यसमा शिक्षक–शिक्षिका, कर्मचारी, पूर्व विद्यार्थी एसोसिएशन, पर्यटन व्यवसायी, सल्लाहकार, नागरिक समाज, टोल विकास संस्था, अभिभावक, विद्यार्थी तथा सम्पूर्ण सहयोगी दाताहरूको सामूहिक योगदान रहेको छ। सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
अन्त्यमा, निवर्तमान अध्यक्षको हैसियतमा पदमा रहँदा वा नरहँदा विद्यालयप्रतिको जिम्मेवारी कहिल्यै समाप्त हुँदैन भन्ने विश्वास अझ गहिरो भएको छ। आगामी दिनमा पनि ताल वाराही माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार विकास र विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु।
ताल वाराही माध्यमिक विद्यालयलाई पोखराकै एक उदाहरणीय शैक्षिक केन्द्रका रूपमा स्थापित गर्ने हाम्रो साझा यात्रा निरन्तर अघि बढिरहनेछ।
(लेखक पहारी विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हुन् ।)





