काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गर्ने भएका छन् ।
भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यसअघि मंगलबार उनले भारतीय विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह तथा भारतीय जनता पार्टी (भाजपा)का नेताहरूसँग भेटवार्ता गरेका थिए । मोदीसँगको भेट बुधबार हुने अपेक्षा गरिएको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा दुई देशबीचको सहकार्यका विविध आयामबारे छलफल हुने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा लामिछानेले भारतीय राजनीतिक नेतृत्व तथा उच्च सरकारी अधिकारीहरूसँग निरन्तर संवाद गरिरहेका छन् ।
रास्वपाका सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ २२ गतेसम्म भारत भ्रमणमा रहने कार्यक्रम छ ।
भ्रमणको मुख्य उद्देश्य नेपाल र भारतबीचको राजनीतिक तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउनु रहेको बताइएको छ ।




