Nidan Media

चीनसँग पराजित हुँदै नेपाली महिला टोली एसियाली खेलकुदबाट बाहिरियो

काठमाडौँ। नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुदका लागि छनोट हुन असफल भएको छ। तेस्रो स्थानका लागि भएको निर्णायक खेलमा चीनसँग डीएलएस नियमका आधारमा ५ विकेटले पराजित भएपछि नेपालको छनोट यात्रा समाप्त भएको हो।

वर्षाले प्रभावित खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ७ ओभरमा ५ विकेट गुमाएर ५० रन बनाएको थियो। नेपालका लागि कविता कुँवरले अविजित २२ रनको योगदान दिइन्। चीनकी मा रुइकेले २ विकेट लिइन्।

डीएलएस नियमअनुसार ७ ओभरमा ४३ रनको लक्ष्य पाएको चीनले ५ विकेट गुमाउँदै अन्तिम ओभरमा लक्ष्य पूरा गर्‍यो। चीनकी कप्तान मिङ्ए झुले सर्वाधिक १८ रन बनाइन्। नेपालकी रिया शर्माले २ विकेट हात पारिन्।

यो जितसँगै चीन एसियाली खेलकुदका लागि छनोट भएको छ। यसअघि फाइनलमा स्थान सुरक्षित गरिसकेका थाइल्यान्ड र मलेसिया पनि एसियाली खेलकुदमा छनोट भइसकेका छन्।

प्रतियोगिताको समूह ‘ए’ मा थाइल्यान्ड, मलेसिया र हङकङ रहेका थिए भने समूह ‘बी’ मा नेपाल, चीन र इन्डोनेसिया सहभागी थिए। छनोट प्रतियोगितामा अन्तिम तीन स्थानमा रहने टोलीहरूले एसियाली खेलकुदमा स्थान बनाउने प्रावधान थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.