काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधिका लागि आज डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ।
अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा हुने फाइनल खेल नेपाली समयअनुसार राति ७ः४५ बजे शुरू हुनेछ। लगातार दोस्रो पटक फाइनल पुगेको बेङ्गलुरुले उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ भने गुजरात दोस्रो पटक च्याम्पियन बन्ने योजनासहित मैदान उत्रिनेछ।
यस खेलमा दुवै टोलीसँग दोस्रो पटक उपाधि जित्ने सुनौलो अवसर रहेको छ। बेङ्गलुरुले गत वर्ष पहिलो पटक उपाधि जित्दै इतिहास रचेको थियो भने गुजरात सन् २०२२ मा च्याम्पियन बनेको थियो। त्यसैले आजको फाइनलले दुवै टोलीमध्ये एकलाई दोस्रो पटक आईपीएल च्याम्पियन बन्ने अवसर प्रदान गर्नेछ।
बेङ्गलुरुका विराट कोहली, रजत पाटीदार र जोस हेजलउड टोलीका प्रमुख खेलाडी हुन्। यता गुजरातका कप्तान शुभमन गिल, साई सुदर्शन, जोस बटलर र राशिद खानमाथि टोलीले ठूलो भरोसा गरेको छ।
दुवै टोलीबीच आईपीएलमा हालसम्म ९ खेल भएका छन्। तीमध्ये बेङ्गलुरुले ५ र गुजरातले ४ खेल जितेका छन्। यस सिजनको लिग चरणमा भने गुजरात विजयी भएको थियो।
यसअघि पहिलो क्वालिफायरमा बेङ्गलुरुले गुजरातलाई ९२ रनले पराजित गर्दै सिधै फाइनलमा स्थान बनाएको थियो। गुजरातले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो।





