Nidan Media

चट्याङ्ग, हावाहुरीदेखि गर्मीसम्मको दोहोरो जोखिम, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौँ । देशका विभिन्न भूभागमा एकैदिन वर्षा, चट्याङ्ग, हावाहुरी र अत्यधिक गर्मीको मिश्रित प्रभाव देखिने भएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक सक्रिय न्यून चापीय प्रणालीका कारण मौसम अस्थिर बनेको जनाएको छ ।

हाल गण्डकी प्रदेशका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका केही क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।

मौसमविद्हरूका अनुसार प्रि-मनसुन सक्रिय भएसँगै पहाडी र हिमाली क्षेत्रमा आकस्मिक वर्षा तथा तराई क्षेत्रमा गर्मी र हावाहुरीको जोखिम एकसाथ बढेको हो ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेशसहित तराईका केही क्षेत्रमा चट्याङ्ग र हावाहुरीको जोखिम औँल्याइएको छ ।

लुम्बिनी प्रदेशको तराई क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि त्यही क्षेत्रमा तातो दिनको सम्भावना पनि रहेको मौसम विभागले जनाएको छ ।

विशेषगरी सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा अत्यधिक गर्मी रहने अनुमानले जनजीवन प्रभावित हुन सक्ने देखिएको छ ।

पछिल्ला दिनमा तराई क्षेत्रमा बढ्दो तापक्रमका कारण स्वास्थ्य जोखिम बढिरहेका बेला वर्षा नहुँदा गर्मी थप कष्टकर बन्दै गएको छ ।

मौसमविद्हरूले मेघगर्जन र चट्याङ्ग हुने क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । खुला स्थानमा नबस्न, अग्ला रुखमुनि आश्रय नलिन तथा आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा वर्षा जारी रहने सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावनासमेत रहेकाले पर्वतीय तथा हिमाली यात्रामा सावधानी अपनाउन आग्रह गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.