काठमाडौँ। उत्तरी चीनको शान्सी प्रान्तस्थित एक कोइला खानीमा विषालु ग्यास विस्फोट हुँदा कम्तीमा ९० जनाको ज्यान गएको छ ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ भएको विस्फोटलाई पछिल्लो एक दशकयताकै सबैभन्दा ठूलो खानी दुर्घटनामध्ये एक मानिएको छ।
बेइजिङबाट करिब ५२० किलोमिटर दक्षिणपश्चिममा रहेको किन्युआन जिल्लास्थित खानीमा विस्फोट हुँदा २४७ जना कामदार भित्र काम गरिरहेका थिए । घटनापछि ठूलो सङ्ख्यामा कामदारलाई बाहिर निकालिएको भए पनि अझै केही कामदार सम्पर्कविहीन रहेको जनाइएको छ ।
दुर्घटनाअघि खानीभित्र विषालु कार्बन मोनोअक्साइड ग्यासको मात्रा अत्यधिक बढेको चेतावनी जारी गरिएको थियो । त्यसको केही समयमै भीषण विस्फोट भएको बताइएको छ । खानीभित्र फैलिएको विषालु ग्यासकै कारण विस्फोट भएको अनुमान गरिएको भए पनि वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ ।
सिन्ह्वाले शुरूमा आठ जनाको ज्यान गएको जनाएको थियो । पछि मृतकको संख्या तीव्र रूपमा बढेर ८२ पुगेको र त्यसपछि ९० नाघेको उल्लेख गरिएको छ । सरकारी सञ्चारमाध्यमले मृतक संख्या किन यति छिटो बढ्यो भन्नेबारे स्पष्ट विवरण दिएको छैन ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचारमा सम्भव सबै प्रयास गर्न निर्देशन दिएका छन् । उनले बेपत्ता कामदारहरूको खोजी तीव्र बनाउन तथा दुर्घटनाको गहन छानबिन गर्न सम्बन्धित निकायलाई आदेश दिएका छन् ।
सी जिनपिङले सबै क्षेत्र र सरकारी निकायहरूले यस घटनाबाट पाठ सिक्नुपर्ने, कार्यस्थल सुरक्षामा थप सतर्कता अपनाउनुपर्ने तथा भविष्यमा यस्ता विनाशकारी दुर्घटना रोक्न जोखिमहरूको गम्भीर मूल्याङ्कन गर्नुपर्ने बताएका छन् ।
उनले चीनमा वर्षायाम सुरु भइसकेको उल्लेख गर्दै बाढी नियन्त्रण तथा विपद् व्यवस्थापनमा विशेष ध्यान दिन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । साथै दुर्घटनाका लागि जिम्मेवार व्यक्तिलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएका छन् ।
यसैबीच चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पनि बेपत्ता कामदारहरूको खोजी र उद्धारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् । उनले दुर्घटनाको तत्काल छानबिन गरी जिम्मेवारमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
चीनमा पछिल्ला वर्षहरूमा खानी सुरक्षामा सुधार आएको दाबी गरिए पनि पर्याप्त सुरक्षा मापदण्ड पालना नहुँदा अझै पनि यस्ता घातक दुर्घटना दोहोरिने गरेका छन् ।





