Skip to main content

Nidan Media

२१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी

काठमाडौँ । सरकारले आगामी कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने तयारी गरेको छ। यस्तै, करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने भएको छ।

सरकारले आर्थिक वर्ष २०८३/८४ को नियमित कार्यक्रमअन्तर्गत पहिलो चरणमा कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाउने तयारी गरेको थियो।

तर, दशैँ परेकाले कार्यक्रमको मिति सारेर कात्तिक १७ र १८ गते निर्धारण गरिएको हो।

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

कार्यक्रमका लागि आवश्यक भिटामिन ‘ए’ क्याप्सुल सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकिएको विभागले जनाएको छ।

बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले नियमित रूपमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिने विभागले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.