काठमाडौँ । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक क्रिकेटको अन्तिम खेलमा अमेरिकासँग खेल्दैछ ।
खेलमा अमेरिकाले टस जितेर पहिले बलिङ गर्दैछ । खेल बिहान साढे ९ बजेदेखि हुनुपर्ने खेल वर्षाका कारण आउटफिल्ड चिसो हुँदा टसमा आधा घण्टा ढिलाइ भएको हो ।
उपत्यकामा बिहानै वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाले दिउँसो पनि वर्षा हुन सक्ने आँकलन गरेसँगै खेल फेरि पनि प्रभावित हुन सक्ने सम्भावना छ ।
नेपालले यो खेल जितेर श्रृंखलाका चार मध्ये तीनमा जित हासिल गर्दै अंक तालिकामा बलियो बनाउन चाहन्छ ।
नेपाल श्रृंखलामा लगातार दोस्रो जित हासिल गर्दै फर्ममा फर्किएको छ । यो श्रृंखलामा नेपालले अमेरिकालाई हराइसकेको छ । नेपाल सामु कमजोर देखिएको अमेरिका ९ विकेटले पराजित भएको थियो ।
त्यस्तै नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा भने वर्षाले प्रभावित खेलमा नेपाल मात्र दुई रनले स्कटल्याण्डसँग पराजित भएको थियो ।
नेपाल लगातार दुई जितसँगै अंक तालिकामा फड्को मार्न सफल भएको छ । नेपाल पाँचौँ स्थानमा पुगेको छ । नेपाल २७ खेलबाट २२ अंकसहित पाँचौँ स्थानमा पुगेको हो ।
२७ खेलबाट ३८ अंकसहित अमेरिका पहिलो स्थानमा छ । ३२ खेलबाट ३८ अंकसहित स्कटल्याण्ड दोस्रो स्थानमा छ ।
२८ खेलबाट ३१ अंकसहित ओमान तेस्रो स्थानमा रहँदा २४ खेलबाट २८ अंकको नेदरल्याण्डस् चौथो स्थानमा छ ।
नामिबिया २८ खेलमा २२ अंकसहित छटौँ स्थानमा रहँदा २४ खेलबाट २१ अंकसहित क्यानाडा सातौँ स्थानमा छ ।
पुछारको यूएईको २४ खेलमा १४ अंक छ ।
नेपालको विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने नेपालको सम्भावना जीवितै रहेको छ । नेपाललाई विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट हुनका लागि अब बाँकी रहेका आफ्ना सबै खेलहरू जित्नुपर्ने कठिन चुनौती छ।
यस्तै आफ्नो एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइराख्न पनि नेपाल अंक तालिकाको शीर्ष छ स्थानभित्र पर्नु अनिवार्य छ। अहिले पाँचौँ स्थानमा रहे पनि नेपालले जितको लयलाई निरन्तरता नदिने हो भने त्यो सम्भावना पनि कम छ ।





