Nidan Media

घरेलु समर्थनसँगै काभा महिला भलिबलमा नेपालको चुनौती

काठमाडौँ। शुक्रबारदेखि शुरू हुने काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली नेपालसहित आठ राष्ट्र उपाधिका लागि प्रतिस्पर्धामा उत्रँदैछन् ।

घरेलु समर्थकको साथ, अनुभवी र युवा खेलाडीको सन्तुलित संयोजन तथा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बढेको आत्मविश्वासका कारण यसपटक नेपाली टोलीमाथि विशेष अपेक्षा गरिएको छ ।

प्रतियोगितामा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स समूह ‘ए’ मा रहेका छन् भने ईरान, काजखस्तान, श्रीलंका र बंगलादेश समूह ‘बी’ मा छन् ।

नेपालले आफ्नो पहिलो खेल जेठ ८ गते साविक विजेता भारतविरुद्ध खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ । नेपाल-भारत भिडन्तलाई प्रतियोगिताकै सबैभन्दा प्रतिक्षित खेलका रूपमा हेरिएको छ ।

बिहीबार नेपाली टोलीकी कप्तान निरुता ठगुन्नाले घरेलु कोर्टमा खेल्दा दर्शकको साथ टोलीका लागि ठूलो शक्ति बन्ने बताइन् ।

साविक विजेता भारतकी कप्तान नन्दनाले छोटो तयारीका बाबजुद टोली उपाधि रक्षा गर्ने लक्ष्यसहित काठमाडौँ आएको बताइन् ।

काजखस्तानकी कप्तान नतालियाले पनि सीमित तयारी भए पनि आफ्नो टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताइन् ।

नेपालमा पछिल्ला वर्षहरूमा महिला भलिबलप्रति दर्शकको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ ।

घरेलु मैदानमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा दर्शकको उत्साहपूर्ण उपस्थितिले नेपाली टोलीलाई अतिरिक्त आत्मविश्वास दिने अपेक्षा गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.