पोखरा । पर्यटकीय राजधानी पोखराको सञ्चालित रात्रिकालीन व्यवसायमा विकृति र असुरक्षा बढ्दै गएको भन्दै पर्यटनसँग आवद्ध संघसंस्थाहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
२४ सै घण्टा व्यवसाय सञ्चालन गर्ने नीति प्रभावकारी कार्यान्वयन नहुँदा पर्यटकीय मर्यादा कमजोर भएको र सामाजिक विकृति मौलाएको उनीहरूको निष्कर्ष छ ।
पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन क्षेत्रसँग सम्बद्ध १५ ओटा संस्थाले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई संयुक्त ज्ञापनपत्र बुझाउँदै रात्रिकालीन व्यवसायलाई व्यवस्थित गर्न र राति २ बजेपछि अनिवार्य बन्द गर्न माग गरेका छन् ।
उनीहरूका अनुसार लेकसाइड क्षेत्रलाई २४ सै घण्टा खुला राख्ने सरकारी निर्णयपछि मापदण्ड कार्यान्वयन कमजोर बनेको र प्रभावकारी अनुगमन नहुँदा सुरक्षा चुनौतीसमेत बढेको छ ।
परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार डान्स बार, दोहोरी साँझ र क्लबहरूले तय गरिएका आचारसंहिता पूर्ण रूपमा पालना नगर्दा सामाजिक उत्तरदायित्व कमजोर बनेको छ । उनका अनुसार ध्वनि प्रदूषण, अमर्यादित व्यवहार र अव्यवस्थित गतिविधिले स्थानीय समुदायमा असन्तुष्टि बढाएको छ ।
ज्ञापनपत्रमा २४ घण्टा खुला नीतिले पर्यटन प्रवर्द्धन गर्नुको साटो सामाजिक विकृति बढाएको उल्लेख गर्दै रात्रिकालीन व्यवसायलाई निश्चित समय सीमामा सीमित गर्नुपर्ने माग गरिएको छ ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्याप्त अध्ययन र पूर्वतयारी बिना ल्याइएको २४ सै घण्टा खुला अवधारणा व्यवहारिक नभएको टिप्पणी गरेका छन् । उनका अनुसार पर्यटकहरू सामान्यतया साँझमै खानपान सकेर बस्ने भएकाले मध्यरातसम्म बजार खुला राख्नुको औचित्य कमजोर देखिन्छ ।
स्थानीयवासीहरूले पनि रात्रिकालीन गतिविधिका कारण दैनिक जीवन प्रभावित भएको गुनासो गरेका छन् ।
पोखरा-६ की महिला सञ्जाल अध्यक्ष बबिता मल्लका अनुसार बिहानको समयमा मदिराले लठ्ठ भएका व्यक्तिहरू सार्वजनिक स्थानमा देखिनु सामान्यजस्तै बनेको छ, जसले स्थानीयलाई असहज र असुरक्षित महसुस गराएको छ ।
होटल प्रतिनिधि समाज पोखराका अध्यक्ष माधव लम्सालले रात्रिकालीन व्यवसायलाई अनुशासित, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए । उनले स्थानीय नियमको परिपालना, ध्वनि प्रदुषण नियन्त्रण र नागरिकको सुरक्षामा प्राथमिकता दिनुपर्नेमा जाड दिए।
यता कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले रात्रिकालीन व्यवसायको नियमन र व्यवस्थापनका लागि सरोकारवालासँग समन्वय गरेर ठोस निर्णय लिइने बताएकी छन् ।
उनले मापदण्ड कार्यान्वयनमा व्यवसायीको पनि जिम्मेवारी रहने उल्लेख गर्दै नियमित अनुगमनलाई थप प्रभावकारी बनाइने स्पष्ट पारेकी छन् ।
प्रशासनले पर्यटन क्षेत्रका समस्या समाधानका लागि पोखरा महानगरपालिका लगायत सरोकारवाला निकायसँग वृहत छलफल गरेर साझा निष्कर्ष निकालिने जनाएको छ ।



