काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा चार हजार पाँच सय र चाँदीको तीन सय ३० रुपैयाँ घटेको हो ।
मूल्य घटेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँ रहेको थियो ।
यता, गत शुक्रबार प्रतितोला पाँच हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आइतबार घटेर पाँच हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।
उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।



