सुर्खेत । नेपाली कांग्रेसका नेता तथा निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको संघारमा पुगेको बताएका छन् ।
कर्णाली प्रदेशमा आयोजित विचार गोष्ठी उद्घाटन गर्दै खड्काले नेतृत्वको कमजोरी र आन्तरिक विवादका कारण पार्टी गम्भीर संकटमा परेको टिप्पणी गरे । उनले विशेष महाधिवेशन र त्यससँग जोडिएका विवादले पार्टीलाई एकताभन्दा विभाजनतर्फ धकेलेको दाबी गरे ।
उनका अनुसार विशेष महाधिवेशनका कारण गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन सकेन ।
“इतिहासमै नेपाली कांग्रेसले पहिलो पटक लज्जास्पद हार व्यहोर्नुपरेको छ,” उनले भने, “चुनावको मुखमा गरिएको विशेष महाधिवेशनले पार्टीलाई आवश्यक ऊर्जा दिन सकेन ।”
खड्काले नेतृत्व अझै पनि एकताको पक्षमा गम्भीर नदेखिएको आरोप लगाउँदै पार्टीभित्र गुटगत गतिविधि बढेको टिप्पणी गरे । उनले नेताहरूलाई घेराबन्दीमा पार्ने र विशेष महाधिवेशनको नाममा पार्टी संरचना कब्जा गर्ने प्रयास भइरहेको दाबी गरे ।
उनका अनुसार क्रियाशील सदस्यता अद्यावधिक र डिजिटलाइजेसनको नाममा लामो समयदेखि योगदान दिएका नेता तथा कार्यकर्तालाई पार्टीबाट पन्छाउने प्रयास भइरहेको छ, जसले संगठनात्मक एकतालाई कमजोर बनाएको छ ।
खड्काले पार्टी गम्भीर मोडमा पुगेकाले अब सबै तहका कार्यकर्ताको सुझाव संकलन गरी भावी रणनीति तय गरिने बताए । आफूले पार्टीबाट पाउनुपर्ने सबै जिम्मेवारी र अवसर पाइसकेको उल्लेख गर्दै उनले अब नयाँ पुस्ताको राजनीतिक भविष्य सुरक्षित गर्न आफू केन्द्रित हुने पनि बताए ।
कार्यक्रममा कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही र प्रदेश सभापति ललितजंग शाहीसहित देउवा समूहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो भने संस्थापन पक्षका नेताहरू अनुपस्थित देखिएका थिए ।




