काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिने कार्यसूची रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत सोमबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बुधबारदेखि छलफल शुरू गर्ने तयारी गरिएको थियो ।
तर विपक्षी दलहरूको अवरोधका कारण बैठक नियमित कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको नीति तथा कार्यक्रममाथिको छलफलमा अनिवार्य उपस्थिति हुनुपर्ने माग राख्दै सदन अवरुद्ध गरेका थिए ।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले आजका लागि नयाँ कार्यतालिका निर्धारण गरेका हुन् ।
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३८ को उपनियम (१) अनुसार संशोधन प्रस्ताव प्रस्तुत गर्ने, ती प्रस्तावमाथि छलफल गराउने र अन्त्यमा प्रधानमन्त्रीबाट जवाफ दिने गरी समय निर्धारण गरेका छन् ।
आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याएर निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ ।
यही अधिवेशनमार्फत आगामी आर्थिक वर्षको बजेट पनि सार्वजनिक गरिनेछ ।
तर प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित नभए विपक्षी दलहरूले पुनः बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।
यसले संसद्को कामकारबाही पुनः प्रभावित हुने सम्भावना देखिएको छ ।
यसैबीच राष्ट्रियसभाको बैठक पनि आज बिहान ११:१५ बजे बस्दैछ ।
राष्ट्रियसभामा समेत सरकारको नीति तथा कार्यक्रममाथि छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ ।
सरकार नीति तथा कार्यक्रम पारित गरेर बजेट प्रक्रियामा अघि बढ्न चाहिरहेको छ ।
तर प्रधानमन्त्रीको उपस्थितिलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच जारी विवादले संसदीय गतिविधि प्रभावित बनाइरहेको छ ।




