Nidan Media

सुकुमवासी संघ आन्दोलित, भोलि पूर्वपश्चिम राजमार्ग पाँच घण्टा चक्का जाम गरिने

काठमाडौं । अखिल नेपाल सुकुम्बासी संघले पूर्वपश्चिम राजमार्ग पाँच घण्टाका लागि चक्का जाम गर्ने घोषणा गरेको छ । बुधबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै संघले वैशाख ३१ गते बिहान ५ बजेदेखि १० बजेसम्म राजमार्ग चक्का जाम गर्ने जनाएको हो ।

नेपाली कम्युनिस्ट पार्टी निकट अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले आन्दोलन देशभरका सुकुम्बासीको अधिकारसँग जोडिएको भन्दै सहयोगका लागि सबैलाई अपिल गरेका छन् ।

उनले चक्का जामलाई कुनै पार्टी वा संगठन विशेषको नभई सुकुम्बासी समुदायको अधिकारका लागि गरिएको आन्दोलनका रूपमा लिन आग्रह गरे ।

‘चक्का जामले देशभरका सुकुम्बासीको एकताको सन्देश दिन जरुरी छ,’ खड्काले भने, ‘सरकारी अनधिकृत डोजर आतंकका कारण आत्महत्या गर्न बाध्य हुनेदेखि अर्बौंको सम्पत्ति क्षति भएको छ, यसको प्रतिवाद आवश्यक छ ।’

संघका अध्यक्ष अमर परियारले पनि चक्का जामलाई सहयोग गर्न आग्रह गर्दै सुकुम्बासीका लागि जमिन व्यवस्थापनको माग गरेका छन् ।

संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले सरकारले नागरिकको आवास अधिकारसम्बन्धी संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको आरोप लगाए ।

उनले प्रधानमन्त्री बालेन शाहप्रति समेत आक्रोश व्यक्त गर्दै उनलाई ‘तानाशाह प्रवृत्ति’को आरोप लगाए ।

नेपाली कांग्रेस निकट नेपाल सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघका अध्यक्ष राजकुमार पाण्डेले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ७७ वटै जिल्लामा संघर्षमा उत्रन आह्वान गरेका छन् ।

जसपा निकट सुकुम्बासी संघका अध्यक्ष तथा संयुक्त सुकुमवासी मोर्चाका महासचिव अर्जुन कुँवरले पनि चक्काजाममा समर्थन जनाउँदै डोजर अभियानविरुद्ध आपत्ति जनाएका छन् ।

संघका उपाध्यक्ष लीला मोक्तानले चक्का जाम बाध्यता भएको भन्दै नागरिक अधिकारका लागि साथ दिन आग्रह गरिन् ।

महासचिव प्रकाश खरेलले पूर्वपश्चिम राजमार्ग चक्का जामसँगै भोलि माइतीघर मण्डलामा संयुक्त प्रदर्शन हुने जानकारी दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.