मुगु । डोल्पाको काङ्ला पास क्षेत्रमा लेक लाग्दा जुम्लाकी एक किशोरीको मृत्यु भएको छ ।
जुम्लाको गुठिचौर गाउँपालिका-१ मणिगाउँकी १७ वर्षीया मन्जली रोकाया कामको सिलसिलामा शे-फोक्सुण्डो गाउँपालिकाको भिजेर गाउँ जाँदै थिइन् । सोही क्रममा उच्च हिमाली क्षेत्रमा पुगेपछि उनलाई लेक लागेको थियो ।
टाउको दुख्ने, वाकवाकी लाग्ने, सास फेर्न गाह्रो हुने, बान्ता हुने र बेहोस हुने अवस्था देखिएपछि स्थानीयले उनलाई उपचारका लागि फोक्सुण्डो स्वास्थ्य चौकीतर्फ लगेका थिए । तर उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जनाइएको छ ।
स्वास्थ्य चौकीमा अक्सिजन र सीपीआरसमेत गरिएको थियो ।
फोक्सुण्डो क्षेत्र समुद्री सतहबाट करिब ३ हजार ६ सय मिटरभन्दा माथि पर्ने भएकाले यहाँ लेक लाग्ने जोखिम उच्च रहने चिकित्सकहरू बताउँछन् ।
हिउँद सकिएसँगै यार्चागुम्बा संकलन, रोजगारी र पर्यटकीय गतिविधिका कारण उच्च हिमाली क्षेत्रमा मानिसको आवतजावत बढ्न थालेको छ । यससँगै लेक लाग्ने घटना पनि बढ्न थालेका छन् ।
स्वास्थ्यकर्मीले उच्च हिमाली क्षेत्रमा जाँदा पर्याप्त पानी पिउन, बिस्तारै उचाइ बढाउन र प्रारम्भिक लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन् ।




