Nidan Media

पाँच वर्षमा परिणाम दिन सकेनौँ भने हामी नालायक साबित हुन्छौँ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी पाँच वर्षभित्र परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य सावित हुने बताएका छन् ।

आइतबार ललितपुरमा पार्टीका सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै उनले अहिले योगदानको मूल्य माग्ने नभई काम गरेर देखाउने समय भएको स्पष्ट पारे ।

उनले केही सांसदहरू पार्टीमा सुरुदेखि लागेको भन्दै व्यक्तिगत अपेक्षा लिएर आफू कहाँ आउने गरेको उल्लेख गर्दै अहिले योगदानको मूल्य माग्ने अवस्था नरहेको बताए ।

उनले रास्वपाले छोटो समयमा राजनीतिक उचाइ हासिल गरे पनि त्यसको आधार विगतका राजनीतिक आन्दोलन र परिवर्तनले तयार पारेको बताए ।

फरक विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोण भए पनि अघिल्ला पुस्ताका नेताहरूको संघर्षकै जगमा अहिलेको परिवर्तन सम्भव भएको उनको भनाइ थियो ।

सभापति लामिछानेले अबको पाँच वर्ष पार्टीका लागि सबैभन्दा महत्वपूर्ण समय भएको उल्लेख गर्दै जनअपेक्षाअनुसार काम गर्न नसके जनताले अस्वीकार गर्ने चेतावनी दिए ।

उनले भने, “हामी ऐतिहासिक क्रान्तिबाट आएका छौँ । यो क्रान्तिलाई परिणाम दिन सकेनौँ भने हामी नालायक साबित हुन्छौँ ।”

उनले सांसदहरूलाई आफ्नो अभिव्यक्ति र व्यवहारप्रति सचेत रहन आग्रह गर्दै आम नागरिकको भावनामाथि चोट पुग्ने गतिविधिबाट टाढा रहन निर्देशन दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.