Nidan Media

आज संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिस गरिने

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई अगाडि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ।

संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री वालेन्द्र साह बालेनको निर्देशन बमोजिम परिषद् सचिवालयले बिहीबार साँझ ५ बजेका लागि बैठक बोलाएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने उक्त बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्नु रहेको छ।

बैठकमा सहभागी हुनका लागि सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले भने सरकारको यो रबैयाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

कांग्रेस सभापति नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले त सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि ठूलो प्रपञ्च रचिरहेको आरोप लगाएका छन् ।

बुधबार कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले आफ्नो खल्तीबाट निकालिएको नामलाई प्रधानन्यायाधीश बनाउने जालझेल गरिरहेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने, ‘५ बजे संवैधानिक परिषद्को बैठक बोलाइएको छ । प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने विषयमा रास्वपाले एउटा सोच बनाएको छ । त्यो प्रधानन्यायाधीश बनाउने पात्र प्रस्तुत गर्छु । सँगै तर्क प्रस्तुत गर्छु र यसको आधारमा संवैधानिक परिषद्बाट निर्णय गराउँछु भनेर होइन । प्रस्ताव गरेको पात्र पारित गराउँछु भनेर । कस्तो जालझेल गरिएको छ भने प्रधानमन्त्री, सभामुख र कानूनमन्त्रीले पारित गरेको कुरा बहुमत हुन्छ भनेर आफ्नो खल्तीबाट निकालिएको नामलाई प्रधान्यायाधीश बनाउने । यो कुरा सोचेर यसरी संवैधानिक परिषद् आफ्नो नियन्त्रण राख्नको लागि यस्तो ठूलो प्रपञ्च रचिसकेको छ ।’

उनले विगतमा प्रधानमन्त्रीले आफ्नो मान्छेलाई ल्याउन खोज्दा आफूहरुले रोकेको भन्दै अहिले अध्यादेश नै ल्याएको कारण रोक्न नसकेको बताए । यसमा कांग्रेसको आपत्ति र प्रश्न दुवै रहेको उनले बताए ।

सभापति थापाले भने, ‘पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो । यो भन्दा अगाडि आफ्नो मान्छेलाई ल्याउन प्रधानमन्त्रीले जालझेल गर्नुभयो । अहिलेको प्रधानमन्त्रीले पनि त्यही गर्नुभयो । यो आपत्तिजनक छ । नेपाली कांग्रेसको प्रश्न छ ।’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.