पोखरा। बालबालिकाहरूलाई ललाईफकाई गरी कानको मुन्द्रा चोरी गर्ने महिलालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका वडा नं ३ स्थायी घर भई हाल पोखरा वडा नं १० रामबजार बस्ने २५ वर्षीया अम्बिका पुलामी मगर रहेकी छिन् ।
उनले गत वैशाख ६ गते साँझ पोखरा महानगरपालिका वडा नं २५ हेम्जा रामचोकमा अन्दाजी छ वर्षीया एक बालिकाको मुद्रा चोरी गरेकी थिइन् ।
अपरिचित अम्बिकाले तिम्रो ममीको साथी हुँ भनी फकाउने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनले बालिकालाई जुस र आइसक्रिम खुवाउने प्रलोभन देखाएर एकान्तमा पुर्याएर कानमा लगाएको करिब एक लाख रुपैयाँ बराबरको सुनको मुन्द्रा (१४, १४ लाल) लुटेर फरार भएकी थिइन् ।
बालिकाका आफन्तले जाहेरी दिएपछि प्रहरीले घटनास्थल वरपरको फुटेज अध्ययन गरेको थियो ।
फुटेजमा पहेँलो रङको रेनकोट लगाएकी महिलाले ग२५प ३५८४ नम्बरको स्कुटरमा बालिकालाई लिएर गएको देखिएको थियो ।
अनुसन्धानका क्रममा उक्त स्कुटर भाडामा लिइएको खुलेपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो ।
अन्ततः वैशाख १७ गते पोखरा वडा नं ९ महेन्द्रपुलबाट अम्बिकालाई प्रहरीले नियन्त्रणमा लिन सफल भयो ।
प्रहरीको चेक गर्दा पक्राउ परेकी अम्बिका पुलामी मगर पुराना पटके अपराधी भएको खुलेको छ ।
उनी विरुद्ध यसअघि नै कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी १८ ओटा फरक फरक मुद्दामा कैद र जरिवानाको फैसला भइसकेको देखिएको डिएसपी बस्नेतले जानकारी दिए ।
उनीबिरुद्ध ०७९ असार ८ मा १० ओटा मुद्दामा जनही दुई वर्ष कैद र २० हजार जरिवाना, २०७९ असार २२ गते अन्य आठ ओटा मुद्दामा छ महिनादेखि एक वर्ष छ महिनासम्मको कैद सजाय भएको अदालतको अभिलेखमा देखिएको छ ।
हाल उनलाई चोरी तथा डाँकासम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको डिएसपी बस्नेतले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।




