Nidan Media

इरानको १४ बुँदे प्रस्तावप्रति ट्रम्प सशंकित, भन्छन् – अझै पर्याप्त मूल्य चुकाएको छैन

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान द्वारा प्रस्तुत १४ बुँदे शान्ति प्रस्तावप्रति गम्भीर आशंका व्यक्त गरेका छन्।

उनले इरानले विगतका गतिविधिका लागि अझै पर्याप्त मूल्य नचुकाएको टिप्पणी गर्दै प्रस्ताव स्वीकार्य हुन कठिन हुने संकेत गरेका छन्।

शनिबार आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले इरानले पठाएको योजनाको चाँडै समीक्षा गर्ने बताएका छन्।

उनले “विगत ४७ वर्षमा मानवता र विश्वविरुद्ध इरानले गरेका गतिविधिका कारण उसले अझै ठूलो मूल्य चुकाउन बाँकी छ” भन्ने धारणा राखेका छन्।

फ्लोरिडामा ‘एयर फोर्स वन’ चढ्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले प्रस्तावको अवधारणाबारे जानकारी पाइसकेको तर पूर्ण विवरण अध्ययन गर्न बाँकी रहेको बताएका छन्।

इरानी समाचार एजेन्सी तस्निम समाचार एजेन्सीका अनुसार इरानले पेश गरेको १४ बुँदे प्रस्तावमा लेबनानलगायतका सबै मोर्चामा जारी द्वन्द्व अन्त्य गर्ने व्यापक योजना समेटिएको छ।

यसअघि अमेरिकाले प्रस्ताव गरेको नौ बुँदे योजनामा दुई महिनाको युद्धविराम प्रस्ताव गरिएको थियो, जसलाई इरानले अस्वीकार गर्दै ३० दिनभित्र स्थायी समाधान हुनुपर्ने अडान राखेको छ।

प्रस्तावमा इरानमाथि भविष्यमा हुने सैन्य आक्रमण रोक्न ठोस सुरक्षा प्रत्याभूति, क्षेत्रबाट अमेरिकी सेना पूर्णरूपमा फिर्ता, सबै अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने, विदेशमा रोक्का गरिएका सम्पत्ति फिर्ता गर्ने र आर्थिक क्षतिपूर्ति दिने माग समावेश छन्।

त्यसैगरी, विश्वकै संवेदनशील तेल पारवहन मार्ग हर्मुज जलडमरूमा स्थायित्व कायम गर्न नयाँ संयन्त्र स्थापना गर्नुपर्ने माग पनि इरानले अघि सारेको छ।

यो प्रस्तावले क्षेत्रीय तनाव कम गर्दै विशेषतः लेबनानजस्ता संवेदनशील क्षेत्रमा जारी द्वन्द्व अन्त्य गर्ने लक्ष्य लिएको बताइएको छ।

यद्यपि, अमेरिकाले अहिलेसम्म औपचारिक प्रतिक्रिया नदिएको अवस्थामा ट्रम्पको पछिल्लो अभिव्यक्तिले सम्झौता सहज नहुने संकेत गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.