काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारमाथि जनअधिकार कमजोर बनाएको आरोप लगाएका छन्।
शुक्रबार १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले जनविरोधी र मजदुरविरोधी नीति अवलम्बन गरिरहेको दाबी गरे।
उनका अनुसार सरकारका पछिल्ला निर्णयहरूले श्रमिक तथा आम नागरिकको अधिकारमा प्रत्यक्ष असर पारेको छ।
नेपालले वर्तमान सरकारका कारण जनताको आधारभूत अधिकार कमजोर बन्दै गएको उल्लेख गरे।
उनले विशेषगरी वासस्थान र रोजगारीको अधिकार संकटमा परेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
“जनताको वासस्थान खोसिँदै गएको छ, रोजगारीको अधिकार पनि कमजोर बनाइँदै गएको छ,” उनले भने।
उनले सुकुमवासी समस्या समाधानमा सरकारको दृष्टिकोण गलत रहेको दाबी गरे। वास्तविक र नक्कली सुकुमवासी छुट्याउने, तथ्यांक संकलन गर्ने र वैकल्पिक व्यवस्थाको तयारी नगरी दमनात्मक कदम चालिएको उनले आरोप लगाए।
उनका अनुसार दीर्घकालीन समाधानका लागि व्यवस्थित नीति आवश्यक हुन्छ, तर त्यसतर्फ सरकार गम्भीर नभएको देखिन्छ।
नेपालले भने, “सुकुमवासी समस्या समाधान कसरी गर्ने भन्नेमा स्पष्ट योजना छैन। वास्तविक र नक्कली छुट्याउने काम नगरी, तथ्यांक संकलन नगरी र वैकल्पिक व्यवस्था नखोजी गरिएको दमनलाई जायज भन्न सकिँदैन।”
उनले रोजगारी संकटलाई पनि प्रमुख समस्या भन्दै सरकारको ध्यानाकर्षण गराए। देशमा पर्याप्त रोजगारी अवसर नहुँदा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भएको उनले बताए।
यस क्रममा श्रमिकहरू जोखिमपूर्ण अवस्थामा परिरहेको र कतिपय अवस्थामा ज्यान गुमाएर फर्किनुपर्ने अवस्था दुःखद् भएको उनको भनाइ थियो।
कार्यक्रममा उनले श्रमिक अधिकार, सामाजिक सुरक्षा र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। राज्यले दीर्घकालीन नीति नबनाएसम्म श्रमिक वर्गको अवस्था सुधार हुन नसक्ने उनको दाबी थियो।
मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न श्रमिक संगठनका प्रतिनिधिहरू, राजनीतिक दलका नेता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा श्रमिक अधिकार, न्यूनतम पारिश्रमिक, रोजगारी सुरक्षा र सामाजिक न्यायका विषयमा पनि चर्चा गरिएको थियो।





