Nidan Media

बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौँ। यातायात व्यवस्था विभागले डिजेलको मूल्यमा भएको तीव्र वृद्धिलाई आधार मान्दै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा बढाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय को सैद्धान्तिक सहमति र विभागको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार वैशाख १६ गतेदेखि लागू हुने गरी नयाँ दर कायम गरिएको हो ।

विभागका अनुसार इन्धन मूल्य ५ प्रतिशतभन्दा बढीले घटबढ हुँदा स्वचालित रूपमा भाडा समायोजन गर्ने प्रावधान छ ।

पछिल्लो समायोजनयता डिजेलको औसत मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसाबाट ३०.४१ प्रतिशतले बढेर २३५ रुपैयाँ ८३ पैसा पुगेपछि भाडा वृद्धि गरिएको हो ।

नयाँ दरअनुसार लामो दूरीका यात्रुवाहक सवारीको भाडा ५.३ प्रतिशतले बढाइएको छ । मालवाहक सवारीमा भने पहाडी मार्गमा ७.७ प्रतिशत र तराई मार्गमा ९.१ प्रतिशतले वृद्धि गरिएको विभागले जनाएको छ ।

यो निर्णय दुई वा सोभन्दा बढी प्रदेश भएर सञ्चालन हुने राष्ट्रिय स्तरका रुटहरूमा मात्र लागू हुने छ । विद्युतीय सवारी साधनमा भने कुनै भाडा वृद्धि गरिएको छैन र पुरानै दर कायम रहनेछ ।

विभागले नयाँ भाडादर तत्काल कार्यान्वयन गर्न सबै सरोकारवालालाई निर्देशन दिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.