Nidan Media

प्रदूषणको चपेटामा काठमाडौँ, स्वास्थ्य जोखिम उच्च

काठमाडौँ। काठमाडौँ उपत्यकामा वायु प्रदूषण तीव्र रूपमा बढ्दै गएपछि एयर क्वालिटी इन्डेक्स (एक्युआई) ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ।

वर्षा नहुनु, सुक्खा मौसम, वन डढेलो तथा धुलो-धुवाँका कारण वायु गुणस्तरमा गिरावट आएको हो।

एक्युआईका अनुसार मंगलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क बुधबार बिहान ११ बजेसम्म बढेर २४७ पुगेको छ। यो स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ, जसले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने जनाइएको छ।

एक्युआई मापदण्डअनुसार ०-५० ‘राम्रो’, ५१-१०० ‘मध्यम’, १०१-१५० ‘अस्वस्थ’, १५१-२०० ‘सबैका लागि अस्वस्थ’, २०१-३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुनु, कृषि अवशेष जलाउने प्रवृत्ति र वन डढेलोका घटनाले वायु प्रदूषण बढाउन प्रमुख भूमिका खेलेका छन्।

उनले वर्षा भएमा वायुमण्डलमा रहेका धुलो कणहरू जमिनमा बस्ने भएकाले प्रदूषण घट्ने तर हाल त्यस्तो अवस्था नरहेको बताए।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनका अनुसार आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना छैन, जसका कारण तापक्रम अझै बढ्ने र वायु प्रदूषण थप खराब हुने सम्भावना छ।

प्रदूषण बढेसँगै स्वास्थ्य जोखिम पनि बढेको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगी बढी प्रभावित हुने जनाइएको छ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न तथा धुलो-धुवाँबाट बच्न सरोकारवालाले आग्रह गरेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.