Nidan Media

नयाँ वर्ष र नयाँ सरकारसँगै व्यवसायमा सुधारको आशामा व्यवसायी

पोखरा । नयाँ वर्ष २०८३ र नयाँ सरकारको आगमनसँगै पोखराका व्यवसायीहरूले व्यवसायिक वातावरण सुधार हुने र मुलुक समृद्धिको दिशामा अघि बढ्ने अपेक्षा गरेका छन् ।

थोक व्यवसायी संघ कास्कीको आयोजनामा मंगलबार सम्पन्न शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा सहभागी व्यवसायीहरूले विगत वर्षका चुनौतीपछि अब सकारात्मक परिवर्तनको अपेक्षा गरिएको बताएका छन् ।

विगत वर्षका आर्थिक र सामाजिक चुनौतीपछि अब स्थायित्व, स्पष्ट नीतिगत दिशा र सहकार्यका माध्यमबाट बजारमा सुधार आउने अपेक्षा व्यवसायीको छ।

संस्थाका निवर्तमान अध्यक्ष टिकाराम सुवेदीले नयाँ वर्षसँगै व्यवसायिक क्षेत्र नयाँ ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे ।

पूर्वअध्यक्ष लेखनाथ सुवेदीले संस्थाको सक्रियता र एकताबद्ध प्रयासका कारण संस्थागत गतिविधि सुदृढ बन्दै गएको बताए ।

उनले नयाँ वर्षमा व्यवसायले उल्लेखनीय फड्को मार्ने र व्यवसायीहरूमा उत्साह थपिने विश्वास व्यक्त गरे।

कपडा व्यवसायी एशोसिएशन कास्कीका अध्यक्ष लेखनाथ पौडेलले व्यवसायीका साझा समस्या समाधानका लागि एकता आवश्यक रहेको बताए।

उनले २०८२ सालमा भएका विभिन्न आन्दोलन र घटनाले व्यवसायीहरू प्रभावित भएको उल्लेख गर्दै नयाँ सरकारसँगै ती समस्या समाधान हुने अपेक्षा व्यक्त गरे। साथै, सरकारले अघि सारेको नयाँ कर नीतिबारे स्पष्ट बुझाइका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए।

सर्वेश्वर व्यवसायी समिति अध्यक्ष छविलाल गौतमले अघिल्लो वर्षका संकटहरू २०८३ मा अन्त्य भई व्यापार–व्यवसाय फस्टाउने विश्वास व्यक्त गरे ।

संस्थाका अध्यक्ष उषा तिमिल्सिनाले नयाँ वर्षसँगै नयाँ आशा र अपेक्षा जन्मिएको उल्लेख गर्दै समग्र व्यवसायिक क्षेत्रसँगै देश पनि समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् ।

अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा भित्तेपात्रो प्रकाशन समिति संयोजक मिरोज नारायण जोशीले स्वागत र महासचिव शम्भुनाथ योगीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट सहयोग गर्ने संस्थाका सचिव रुद्रबहादुर बस्नेत रुपकलाई सम्मान गरिएको थियो । साथै, क्यान्सर पीडित मिरा पन्तलाई आर्थिक सहयोग प्रदान गरिएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.