काठमाडौँ । एघारौँ मिसेस मंगोल नेपाल-२०२५ को उपाधि टीना आले कवर मगरले जितेकी छन् । निर्णायकको अन्तिम प्रश्नको सटिक उत्तरसँगै उनी उपाधि विजेता घोषित भएकी हुन् । उनी चाँदीबाट बनेको ताज पहिरिन सफल भइन् । योसँगै उनी सन् २ं०२६ मा लण्डनमा आयोजना हुने एनएफइए अर्वाडका लागि छनोट भएकी छन् ।
प्रतियोगिताको फस्र्ट रनरअपमा संगीता राना मगर र सेकेण्ड रनरअपमा शान्ति गुरुङ बन्न सफल भएका छन् ।
हिमायलयन मुभीजद्वारा आयोजित कार्यक्रम मंगोलियन समुदायका विवाहित महिला समावेश हुने एक राष्ट्रियस्तरको सांस्कृतिक सौन्दर्य प्रतियोगिता हो ।
दशक लामो अनुभव संगालेकी फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा दर्जन बढी प्रतियोगीले व्यक्तित्व विकास, क्षमता अभिवृद्धि स्टेजको प्रस्तुतीकरणसहित आफ्नो सांस्कृतिक मूल्य मान्यताका विषयमा तालिम लिएका थिए । सो अवसरमा प्रतियोगीले सुन्दर ओपनिङ, डान्सका साथै आआफ्नो जातीय नृत्यसमेत प्रस्तुत गरेका थिए ।
सांस्कृतिक परिधानमा सजिएका मंगोलियन महिलाहरु आआफ्नो परम्परागत पोशाकमा निकै सुन्दर देखिएका थिए । प्रतियोगीले आआफ्ना भाषामा परिचयात्मक चरण दिँदै फ्यूजन थीममा बेस्ट ड्रेस र अन्तमा कल्चरल फ्लेबरको इभिनिङ गाउनमा आफूलाई अब्बल सावित गर्ने प्रयास गरेका थिए ।
कार्यक्रममा पप गायक धिरज राईको प्रस्तुतिमा दर्शक झुमेका थिए भने अधिकांश दर्शकसमेत सांस्कृतिक पोशाकमा उपस्थित हुँदा कार्यक्रमको रौनक नै भिन्नै थियो ।
कार्यक्रमको निर्णायकमा अभिनेता, चलचित्रकर्मी रमेश उप्रेती, कस्मेटोलोजिस्ट रेखा थापा मगर, मिसेस हिमालयन नेपाल-२०१४ की अनिता गुरुङ, मिसेस मंगोल नेपाल २०२२ एवं सौन्दर्यकर्मी सम्झना तामाङ र मिसेस ग्लोबल नेपाल२०२५ तथा बैंकर इन्दिरा घिमिरे थिए ।
मंगोलियन समुदायका लोपोन्मुख कला, संस्कृति, भेषभूषा र भाषाको संरक्षण गर्दै आधुनिक समयमा त्यसको प्रवर्द्धन, महिलाको क्षमता र प्रतिभा प्रस्फुटनको समिश्रित स्वरुपको प्रस्तुति गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्छ ।