पाेखरा । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै हाल देशभर उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षाको अवस्था सामान्य नहुँदासम्म सबै बीमा कम्पनी तथा तिनका शाखा र उपशाखा कार्यालयलाई वर्क फ्रम होम (घरबाट कार्य सञ्चालन) को व्यवस्था मिलाउन अनुरोध गरेको हो ।
प्राधिकरणले बीमा कम्पनीलाई आफ्ना कर्मचारी र भौतिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न पनि विशेष आग्रह गरेको छ ।
साथै, सुरक्षा निकायको आदेश पूर्णरूपमा पालना गर्न र कुनै पनि अवाञ्छित गतिविधि देखा परेमा तुरुन्तै सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउनसमेत सूचित गरिएको छ ।
नेपाल बीमा प्राधिकरणले देशमा हालको अस्थिर र संवेदनशील परिस्थितिको सामना गर्न र बीमा सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले यस्तो कदम चालेको बताइएको छ ।