काठमाडौँ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका-१६ पत्थरखोलाको पुलनजिक माइक्रो बस अनियन्त्रित भई पल्टिँदा ६ जना घाइते भएका छन् ।
नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र. ०१-००१ ज १००० नम्बरको माइक्रो बसको अगाडिको बायाँतर्फको टायर पञ्चर भएपछि अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । बसमा चालक र सहचालकसहित सात जना सवार थिए ।
दुर्घटनामा चालक कावासोती नगरपालिका-८ का २७ वर्षीय होरामणी महतोसहित कावासोती-३ का ७४ वर्षीय सुरेश कुँवर, उनकी ६२ वर्षीया श्रीमती लालकुमारी कुँवर, सुर्खेत वीरेन्द्रनगर-२ का ४५ वर्षीय धनराज बूढा, वीरेन्द्रनगर-६ का ३६ वर्षीय बलबहादुर बुढा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सरावल गाउँपालिका-३ का ५५ वर्षीय बिधासागर लोना चमार घाइते भएका छन् ।
घाइतेमध्ये चालक महतोको कालीगण्डकी अस्पतालमा उपचारपछि प्रहरीको नियन्त्रणमा रहेका छन्। अन्य घाइतेको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




