काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टरको योजना रोकिएको विषयमा सरकारलाई जवाफ दिन रुलिङ गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले ढल्केबर ट्रमा सेन्टरको योजना किन रोकिएको भन्दै सरकारसँग जवाफ माग गरेपछि सभामुख अर्यालले सम्बन्धित विषयमा सरकारलाई जवाफ दिन निर्देशन दिएका हुन्।
यादवले २०७७ सालदेखि विभिन्न सरकारले ढल्केबरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढाएको, त्यसका लागि बजेट विनियोजन र चार बिघा जग्गा अधिग्रहणसमेत भइसकेको अवस्थामा योजना रोक्नु नीतिगत निरन्तरताविपरीत भएको बताए।
बजेट भाषणमा मधेस प्रदेशमा ट्रमा सेन्टर बनाउने घोषणा गरिए पनि हालै स्वास्थ्यमन्त्रीले ढल्केबरको नाम नलिई अर्को स्थानको चर्चा गरेको उल्लेख गर्दै उनले ढल्केबरको योजना कहाँ हरायो भन्दै प्रश्न गरे।
ढल्केबर पूर्व-पश्चिम राजमार्ग, काठमाडौँ-जनकपुर सडक र बीपी राजमार्ग जोडिने प्रमुख केन्द्र भएकाले दुर्घटनाका बिरामीलाई आकस्मिक उपचार उपलब्ध गराउन सबैभन्दा उपयुक्त स्थान रहेको यादवले बताए।
सरकारले विकासभन्दा राजनीति प्राथमिकतामा राखेको आरोप लगाउँदै उनले यस्तो निर्णयले राज्यप्रतिको जनविश्वास कमजोर बन्ने र मधेस प्रदेशमा पुनः असन्तुष्टि बढ्न सक्ने चेतावनी दिए।




