काठमाडौँ । राष्ट्रिय सभाको बिहीबारको बैठकको शून्य समयमा सांसदहरूले स्वास्थ्य बीमा, खाना पकाउने ग्यासको अभाव, बाढीपहिरो, किसानका समस्या, सीमा विवाद, राहदानी सेवा, दूधको भुक्तानी तथा सुनसरी-सिराहाका घटनालगायत विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरिन्। सांसद देवकोटाले तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा शुरू भएको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुको सट्टा खारेज गर्न खोजिएको हो कि भन्ने आशंका व्यक्त गरिन्।
स्वास्थ्य बीमा कार्ड लिएर अस्पताल पुगेका बिरामीले उपचार नपाउने र अस्पतालले भुक्तानी नपाएको गुनासो गरिरहेको उल्लेख गर्दै सांसद देवकोटाले सरकारले नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको विषयमा गम्भीर बन्नुपर्ने बताइन्।
सांसद मीना सिंह रानाले सरकारले सुशासन र शून्य सहिष्णुताको कुरा गरे पनि दैलेखमा बाँदरको आतंकले किसानको मकैबाली नष्ट भएको, राहत तथा क्षतिपूर्तिको व्यवस्था नभएको र खाना पकाउने ग्यासको अभावले उपभोक्ता सास्तीमा परेको बताइन्। उनले ग्यासको सहज आपूर्ति, कालोबजारी नियन्त्रण तथा किसानलाई राहत उपलब्ध गराउन माग गरिन्।
सांसद रञ्जित कर्ण ले सप्तरीको राजविराज जोड्ने मुख्य सडक निर्माण अलपत्र परेको भन्दै आवश्यक बजेट व्यवस्था गरी निर्माण कार्य तत्काल अघि बढाउन सरकारसँग आग्रह गरे।
सांसद रेखाकुमारी झाले सुनसरीको देवानगञ्ज र सिराहाको गोलबजारमा गोली चलाउनु नपर्ने अवस्थामा पनि गोली चलाइएको दाबी गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरिन्।
सांसद रोशनी मेचेले खाना पकाउने ग्यासको अभाव, स्वास्थ्य बिमा कार्यक्रमको प्रभावहीनता तथा राहदानी सेवामा नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनले स्वास्थ्य बिमा भुक्तानी रोकिँदा बिरामीले उपचार र औषधि नपाउने अवस्था सिर्जना भएको बताइन्।
सांसद बासुदेव घिमिरेले सुनसरी र सिराहालगायत तराईका जिल्लामा भएको धार्मिक तनावको निष्पक्ष छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्न माग गरे।
सांसद सम्झना देवकोटाले गोरखामा अविरल वर्षापछि आएको बाढीपहिरोले सडक, घर तथा पेट्रोल पम्पमा ठूलो क्षति पुगेको जानकारी दिँदै प्रभावितलाई राहत, पुनःस्थापना र जोखिम न्यूनीकरणका कार्यक्रम प्रभावकारी बनाउन सरकारसँग आग्रह गरिन्।
सांसद सुनील बहादुर थापाले दुग्ध विकास संस्थानले धनकुटासहित विभिन्न जिल्लाका किसानबाट खरिद गरेको दूधको रकम लामो समयदेखि भुक्तानी नगरेको भन्दै किसानको बक्यौता तत्काल उपलब्ध गराउन माग गरे।
सांसद सोमनाथ पोर्तेलले माइतीघर मण्डलामा एक सय १० दिनदेखि जातीय विभेदविरुद्ध सत्याग्रहमा बसेकी दीपा नेपालीका मागप्रति सरकार गम्भीर नबनेको भन्दै आन्दोलनरत पक्षसँग तत्काल वार्ता गरी समस्या समाधान गर्न आग्रह गरे।
यसअघि सांसद चन्द्रबाबु केसीले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रको समस्या समाधान गर्न र ग्यास अभाव अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
सांसद जगत तिमल्सिनाले प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले अन्तर्राष्ट्रिय मानव अधिकार संस्थासँग स्पष्टीकरण माग्ने निर्णयप्रति आपत्ति जनाउँदै मानव अधिकारको आवाजलाई दबाउने होइन, सरकारलाई जवाफदेही बनाउनेतर्फ समिति केन्द्रित हुनुपर्ने बताए।
सांसद धर्मेन्द्र पासवानले मधेस प्रदेशको रौतहटस्थित गौर क्षेत्रमा भारतीय बाँधको उचाइ बढाइएकाले डुबानको जोखिम बढेको भन्दै त्यसको समाधानका लागि सरकारले तत्काल पहल गर्न माग गरे।




