काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई तेह्रथुम प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तेह्रथुमको लालिगुराँस नगरपालिका-८ सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपाली रहेका छन्।
जिल्ला अदालत तेह्रथुमले कर्तव्य ज्यान मुद्दामा उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो। जसमध्ये ९ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको अवस्थामा उनी सुनसरीस्थित झुम्का कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए।
प्रहरीका अनुसार २०८२ साल भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा छत्रबहादुर झुम्का कारागारबाट फरार भएका थिए।
फरार भएपछि उनी आफ्नै घरमा लुकीछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय वसन्तपुरबाट प्रहरी निरीक्षक रुपेश तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले साउन २१ गते राति करिब २ बजे उनको घरबाट पक्राउ गरेको हो।
पक्राउ परेका नेपालीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।




