काठमाडौँ । खैरो हेरोइन र नियन्त्रित लागुऔषध ट्रामाडोलसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका-९ भीमानबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ४५ ग्राम १९० मिलिग्रामसहित सिराहाको मिर्चैया नगरपालिका-५ का २० वर्षीय सन्देश यादवलाई मंगलबार पक्राउ गरिएको हो।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले महोत्तरीबाट काठमाडौँतर्फ आउँदै गरेको मधेस प्रदेश ०५-००१ ज ००८६ नम्बरको हायसमा सवार यादवलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको थियो।
सोही लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा बा.प्र.०२-०४६ प ४८५३ नम्बरको मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका-७ का २० वर्षीय राहुल कुमार मण्डल र सिराहाको कल्याणपुर नगरपालिका-६ का २० वर्षीय अभिषेक कुमार साहलाई पनि प्रहरीले पक्राउ गरेको छ।
यसैगरी, सिन्धुलीकै कमलामाई नगरपालिका-९ भीमानबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ८२० मिलिग्राम र नियन्त्रित लागुऔषध ट्रामाडोल एक हजार ४३० ट्याब्लेटसहित दुई जनालाई पनि मंगलबार बिहान पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-६ का ३० वर्षीय विकास दाहाल र इटहरी उपमहानगरपालिका-१७ का २४ वर्षीय सागर कार्की रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबाससहितको प्रहरी टोलीले मोरङबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ३७१२ नम्बरको हायसमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।





