काठमाडौँ । बर्दियामा मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गरेको आरोपमा मोटरसाइकल चालक पक्राउ परेका छन्।
प्रहरीका अनुसार साउन १५ गते राति करिब २ बजे ठाकुरबाबा नगरपालिका-९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१-०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।
दुर्घटनामा चालक डोटीको शिखर नगरपालिका-४ तिनाडी स्थायी घर भई हाल ठाकुरबाबा नगरपालिका-७ कालीगौडी बस्दै आएका करिब २० वर्षीय गोविन्द जैसी घाइते भएका थिए भने पछाडि सवार ठाकुरबाबा नगरपालिका-९ बेथहनी गाउँका २७ वर्षीय आसाराम थारु सम्पर्कविहीन भएका थिए।
घटनाको अनुसन्धानका क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आसाराम थारुको शव फेला परेको थियो।
अनुसन्धानबाट दुर्घटनापछि घाइते अवस्थामै रहेका आसाराम थारुलाई उद्धार गर्नुको सट्टा चालक गोविन्द जैसीले निर्माणाधीन घरको सटरिङको काठ र मोटरसाइकलको चाबीले प्रहार गरी उनीमाथि आक्रमण गरेको खुलेको प्रहरीले जनाएको छ।
त्यसपछि मृतकले लगाएको माला/डोरीले घाँटी कसी हत्या गरी शव सिँचाइ नालामा फालेर फरार भएको अनुसन्धानबाट खुलेको छ।
प्रहरीले गोविन्द जैसीलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।




