काठमाडौँ । बाढीपहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले आज बिहानसम्मको विवरण सार्वजनिक गर्दै सडकको अवस्थाबारे जानकारी दिएको हो।
प्रहरीका अनुसार गोरखाको आरुघाट गाउँपालिका-२, ३ र ९ अन्तर्गत सोतीमा रहेको फलामे पुल तथा आरुघाटबाट धादिङ जोड्ने सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।
यस्तै, गोरखाकै आरुघाट गाउँपालिका-९ नयाँपुलस्थित आरुघाट-धादिङ सडकखण्डमा बाढीका कारण यातायात प्रभावित भएको छ।
उक्त सडकमा हाल साना सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।
कर्णाली प्रदेशको सुर्खेतस्थित बराहताल गाउँपालिका-७ औलिसेमा पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग भने अहिले एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।




