Nidan Media

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ। देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

महोत्तरीको बर्दिबास नगरपालिका-३ काँडेभोगटेस्थित बीपी राजमार्गमा सोमबार बिहान बर्दिबासबाट भीमानतर्फ जाँदै गरेको मधेश प्रदेश-०२-००७ प १९०९ नम्बरको मोटरसाइकलले नीलगाईलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनुषाको जनकपुर उपमहानगरपालिका-१ निवासी ३२ वर्षीय निय कुमार साहको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, मोरङको विराटनगर महानगरपालिका-४ आयल निगमस्थित कोशी लोकमार्गमा गएराति भारतीय नम्बर प्लेटको बुलेट मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका भारतको कोलकाता घर भई हाल विराटनगर-४ कदमगाछीमा बस्दै आएका करिब ५० वर्षीय नेपाल सरकारको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका-३ सोमनाथ पुलस्थित पूर्व-पश्चिम राजमार्गमा गएराति लु८३प ९४५ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका ३५ वर्षीय मोटरसाइकल चालकको जिल्ला अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.