रौतहट। रौतहटको कटहरिया नगरपालिका-३ बडेर्वामा हजुरआमाको हत्या गरेको आरोपमा १८ वर्षीय नाति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साउन १४ गते साँझ करिब ६ बजे ७५ वर्षीया तेतरी खातुन आफ्ना माइला छोरा शेख निमुदिनको टालीले छाएको भुइँघरभित्र खाटमा मृत अवस्थामा फेला परेकी थिइन्।
घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान शुरू गरेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा घटना शंकास्पद देखिएपछि मृतकका १८ वर्षीय नाति साहिद शेखलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार थप अनुसन्धानका क्रममा साहिद शेखले नै आफ्नी हजुरआमाको हत्या गरेको खुल्न आएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।




