पोखरा। पोखरा महानगरपालिकाले फिर्केखोलाको खोला घरभित्र निर्माण गरिएका संरचना वर्षायाम सकिएलगत्तै हटाइने जनाएको छ।
सम्बन्धित घरधनी तथा संस्थाले दिएको प्रतिबद्धताअनुसार हालसम्म संरचना नहटाएकाले अब प्रचलित कानूनअनुसार महानगरपालिका आफैंले हटाउने चेतावनी दिएको हो।
महानगरपालिकाले बुधबार जारी गरेको ध्यानाकर्षण पत्रमा अधेरीकुनादेखि फेवातालसम्म बग्ने करिब आठ किलोमिटर लामो फिर्केखोलाको खोला घरभित्र बनेका संरचना हटाउने अभियान निरन्तर जारी रहेको उल्लेख गरेको छ।
ठूला संरचनाका हकमा महानगरपालिकाले सांकेतिक रूपमा हटाउने कार्य शुरू गरी बाँकी संरचना सम्बन्धित घरधनी तथा संस्थाले आफैं हटाउने मौखिक प्रतिबद्धताका आधारमा निश्चित समय दिएको भए पनि हालसम्म कार्यान्वयन नभएको जनाएको छ।
महानगरका अनुसार वर्षायामका कारण डोजरलगायत ठूला उपकरण परिचालन गर्न व्यावहारिक कठिनाइ भएकाले अहिले संरचना हटाउने काम प्रभावित भएको हो।
वर्षायाम समाप्त भएपछि पनि अतिक्रमित संरचना नहटाइए महानगरपालिकाले कानुनबमोजिम हटाउने स्पष्ट पारेको छ।
महानगरपालिकाले यस विषयमा कुनै भ्रम वा द्विविधा नराख्न सरोकारवालालाई आग्रह गर्दै फिर्केखोलाको संरक्षण, विकास र संवर्द्धनमार्फत वातावरणमैत्री पोखरा निर्माण अभियानमा सहयोग गर्न सम्पूर्ण नगरवासीसँग अपील गरेको छ।
सूचना





