Nidan Media

असममा रोकिएन बाढीको कहर, मृत्यु हुनेको संख्या ६२ पुग्यो

काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य असममा आएको विनाशकारी बाढीका कारण हालसम्म ६२ जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन्।

असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माका अनुसार बाढीबाट ११ लाखभन्दा बढी नागरिक प्रभावित भएका छन्।

हाल राज्यका २५ जिल्ला बाढीको चपेटामा छन् भने दुई हजार एक सय भन्दा बढी गाउँ जलमग्न भएका छन्। बाढीका कारण प्रभावित क्षेत्रका नागरिकको जनजीवन अत्यन्त कष्टकर बनेको छ।

उद्धार तथा राहत कार्यलाई तीव्र बनाउँदै स्थानीय प्रशासनले प्रभावित जिल्लामा १७० वटा राहत शिविर र १ हजार ३०४ वटा राहत वितरण केन्द्र सञ्चालनमा ल्याएको छ।

ती शिविरमा हाल ४५ हजार चार स जना विस्थापितले आश्रय लिइरहेका छन्। उनीहरूलाई खाद्यान्न, पिउने पानी र अन्य अत्यावश्यक सामग्री उपलब्ध गराइएको अधिकारीहरूले बताएका छन्।

केन्द्रीय जल आयोगका अनुसार ब्रह्मपुत्र नदी तथा यसका विभिन्न सहायक नदीहरूको जलसतह अझै खतराको सीमाभन्दा माथि रहेकाले थप डुबानको जोखिम कायम छ।

यसैबीच, असम राज्य विपद् व्यवस्थापन प्राधिकरणले बाढीका कारण ५६ हजार ६०६ हेक्टर खेतीयोग्य जमिनमा लगाइएको बाली पूर्ण रूपमा नष्ट भएको जनाएको छ।

मनसुनका बेला असममा हरेक वर्ष बाढी र डुबानको समस्या दोहोरिने गरेको छ। यस वर्ष पनि बाढीले ठूलो जनधनको क्षति पुर्‍याउनुका साथै लाखौं नागरिकको दैनिकी प्रभावित बनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.