काठमाडौँ। मोरङमा एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १० गते पक्राउ परेका उनीहरूलाई घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ।
प्रहरीका अनुसार साउन ३ गते बिहान मोरङको सुनवर्षी नगरपालिकाकी एक बालिकालाई सिटी चालक मोहम्मद अरमानले ललाईफकाई रंगेली-७ स्थित एक क्याफेमा लगेर जबरजस्ती करणी गरेका थिए। त्यसपछि सोही क्याफेका सञ्चालक सुमन कुमार साहले पनि बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ।
यस्तै, साउन ४ गते राति पुनः पीडितलाई रंगेली-७ स्थित अर्को क्याफेमा लगिएको र त्यहाँ करण मण्डल, प्रियान्सु साह तथा रितिक यादवले सामूहिक रूपमा जबरजस्ती करणी गरेको आरोपमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।
उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न पाँचै जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा १८ वर्षीय मोहम्मद अरमान, २१ वर्षीय सुमन कुमार साह, २० वर्षीय करण मण्डल, १८ वर्षीय प्रियान्सु साह र १८ वर्षीय रितिक यादव रहेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।




