काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी कमजोर रहेको आरोप लगाउँदै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा प्रस्ताव दर्ता गर्दै सरकारलाई विपद् जोखिम न्यूनीकरणमा गम्भीर बन्न आग्रह गरेका हुन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक पदमबहादुर परियारले गत वर्ष मनसुनका कारण एक सय ४० भन्दा बढी नागरिकको मृत्यु र १४ हजारभन्दा बढी प्रभावित भएको स्मरण गराउँदै यस वर्ष पनि सरकारको तयारी फितलो रहेको बताए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले विपद् व्यवस्थापन थप प्रभावित हुने उनको भनाइ छ।
नेपाल कम्युनिस्ट पार्टीकी प्रमुख सचेतक मदनकुमारी शाहले जलवायु परिवर्तनका कारण यस वर्ष जोखिम अझ बढेको उल्लेख गर्दै सरकारले कार्ययोजना बनाए पनि प्रभावकारी कार्यान्वयन गर्न नसकेको आरोप लगाइन्।
एमाले सांसद सोमनाथ पोर्तेलले सरकारले विगतमा विपद् व्यवस्थापनभन्दा प्रचारमुखी गतिविधिमा बढी ध्यान दिएको टिप्पणी गर्दै देशभर समान रूपमा पूर्वतयारी, उद्धार र राहतको व्यवस्था गर्न माग गरे।
प्रस्तावमा बाढी, पहिरो, डुबान, चट्याङ र हिमताल विस्फोटको जोखिम बढिरहेको उल्लेख गर्दै सरकारले पूर्वसूचना प्रणाली, उद्धार सामग्री, बजेट व्यवस्थापन र स्थानीय तहसँगको समन्वयलाई प्रभावकारी बनाउनुपर्ने माग गरिएको छ।
विपक्षी दलहरूले सरकारलाई संसदमार्फत स्पष्ट योजना सार्वजनिक गर्न र नागरिकको जिउधनको सुरक्षामा तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।




