काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादन वृद्धि गर्ने तयारी भइरहेको बताएका छन्।
मंगलबार आयोजित ऊर्जा तथा जलस्रोतसम्बन्धी विषयगत समितिको बैठकमा उनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको स्थलगत अध्ययनबाट सिँचाइ र कृषिलाई सँगै अघि बढाउनुपर्ने आवश्यकता स्पष्ट भएको बताए।
उनले जलस्रोत विधेयकलाई जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्ने गरी समयानुकूल र व्यवहारिक बनाइँदै रहेको जानकारी दिए। मधेश र सुदूरपश्चिममा खडेरी तथा भूमिगत जलको सतह घट्दै गएको उल्लेख गर्दै उनले जलस्रोत संरक्षण, पुनर्भरण र ‘वाटर अडिट’ प्रणाली लागू गर्नुपर्नेमा जोड दिए।
मन्त्री श्रेष्ठले जलविद्युत्सँगै सौर्यलगायत नवीकरणीय ऊर्जालाई प्राथमिकता दिइने बताए। हाल करिब १२.६ प्रतिशत ऊर्जा चुहावट रहेको उल्लेख गर्दै नयाँ प्रविधिबाट त्यसलाई घटाउने लक्ष्य रहेको उनको भनाइ थियो। साथै, स्थानीय समुदायको सहभागिता बढाउन ‘सामुदायिक नदी’ अवधारणा अघि बढाइने पनि उनले बताए।




