काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि १४.२ केजी क्षमताको भरिएको एलपी ग्यास सिलिन्डर पुनः बिक्री-वितरण शुरू गरेको छ।
इन्डियन आयल कर्पोरेशनबाट ग्यास आपूर्तिमा सुधार आएपछि पुरानै परिमाणको ग्यास उपलब्ध गराउने निर्णय गरिएको निगमले जनाएको छ।
निगमका अनुसार १४.२ केजीको भरिएको सिलिन्डरको खुद्रा मूल्य दुई हजार ६० रुपैयाँ कायम गरिएको छ।
बजारमा रहेका ७.१ केजीका सिलिन्डर पूर्ण रूपमा प्रतिस्थापन नभएसम्म दुवै प्रकारका सिलिन्डर बिक्री-वितरणमा रहनेछन्।
निगमले उपभोक्तालाई सिलिन्डर खरिद गर्दा तौल र क्षमताबारे यकिन गर्न आग्रह गरेको छ।
साथै, भारतबाट नियमित रूपमा ग्यास आयात भइरहेकाले अनावश्यक रूपमा सिलिन्डर भण्डारण नगर्न पनि अनुरोध गरेको छ।
यद्यपि, १४.२ केजीको नाममा कम ग्यास भएको सिलिन्डर बिक्री हुन सक्ने भन्दै उपभोक्ता ठगिने जोखिमप्रति पनि चासो व्यक्त गरिएको छ।
उपभोक्तालाई सिलिन्डरको तौल जाँच गरेर मात्र खरिद गर्न सुझाव दिइएको छ।
यसअघि एलपी ग्यासको मूल्य सय रुपैयाँ घटे पनि बजारमा पुरानै स्टक रहेको भन्दै धेरै उपभोक्ताले दुई हजार एक सय रुपैयाँ तिर्न बाध्य भएको गुनासो गर्दै आएका थिए।
अब नयाँ मूल्य लागू भएसँगै उपभोक्ताले १४.२ केजीको सिलिन्डर २ हजार ६० रुपैयाँमै खरिद गर्न सक्नेछन्।




