काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शंकास्पद सवारी पार्किङ प्रकरणमा दोषी जोसुकै भए पनि कार्बाही हुने बताएका छन्।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले रास्वपाले शुरूदेखि नै उक्त घटनालाई गलत भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको बताए।
रास्वपाका नेता–कार्यकर्ता संलग्न भए पनि कारबाही हुन्छ कि हुँदैन भन्ने प्रश्नमा लामिछानेले जो भए पनि कार्बाही हुन्छ र रास्वपाका नेता–कार्यकर्ता भए पनि छुट नहुने स्पष्ट पारे ।
रास्वपाका मन्त्रीको सवारीमा कालो सिसा रहेको विषयमा उनले कानुन सबैका लागि समान हुने भन्दै ट्राफिक प्रहरीले आवश्यक कारबाही गर्न सक्ने बताए।
प्रधानमन्त्री बालेन शाहसँग भएको भेटबारे उनले सुकुमवासी समस्या, समसामयिक राजनीति र अन्य राष्ट्रिय विषयमा विस्तृत छलफल भएको जानकारी दिए।
उनले सुकुमवासी समस्या समाधान गर्दा सर्वसाधारणले दुःख नपाउने गरी अघि बढ्नुपर्ने विषयमा प्रधानमन्त्रीसँग विशेष छलफल भएको पनि बताए।




