काठमाडौँ। नेपाली बजारमा बुधबार पनि सुनचाँदीको भाउ घटेको छ ।
मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा नौ सय र चाँदीको ५५ रुपैयाँ घटेको हो। मंगलबार पनि सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँ घटेको थियो।
मूल्य घटेसँगै बुधबार सुनको भाउ प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ रहेको थियो।
यता, मंगलबार चार हजार पाँच सय ५५ रुपैयाँ रहेको असली चाँदीको भाउ बुधबार घटेर चार हजार पाँच सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।



