Nidan Media

दक्षिण अफ्रिकामा यात्रुवाहक बस दुर्घटना, १६ जनाको मृत्यु

काठमाडौँ । दक्षिण अफ्रिकाको दक्षिण–पश्चिम क्षेत्रमा ७८ यात्रु बोकेको बस दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेमध्ये बालबालिकासमेत रहेका छन् भने दर्जनौं यात्रु घाइते भएका छन्।

प्रहरी र सडक ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार बस पर्यटकीय सहर केप टाउनबाट पूर्वी केप प्रान्तको इडुटिवातर्फ जाँदै गर्दा बिहीबार बिहान दुर्घटनामा परेको हो।

प्रारम्भिक अनुसन्धानअनुसार सामान ढुवानी गर्ने ट्रकसँग ठोक्किनबाट जोगिन चालकले बस मोड्ने प्रयास गरेका थिए। त्यसक्रममा चालकले नियन्त्रण गुमाएपछि बस पल्टिएको सडक ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार अधिकांश यात्रुको घटनास्थलमै मृत्यु भएको थियो। मृतकमध्ये सात पुरुष, पाँच महिला र तीन बालबालिका रहेको पुष्टि भएको छ भने एक जनाको विवरण अझै खुल्न बाँकी रहेको बताइएको छ।

दुर्घटनामा ४३ जना यात्रु सामान्य घाइते भएका छन्। उनीहरूमध्ये केहीलाई घटनास्थलमै प्राथमिक उपचारपछि घर फर्काइएको छ भने थप उपचार आवश्यक परेकाहरूलाई अस्पताल भर्ना गरिएको छ। दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो दुर्घटनाले दक्षिण अफ्रिकामा सडक सुरक्षाप्रतिको चुनौती फेरि उजागर गरेको छ। अफ्रिकी महादेशकै विकसित सडक सञ्जालमध्ये एक भए पनि अत्यधिक गति, चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु वा भार बोक्ने प्रवृत्ति, प्राविधिक रूपमा कमजोर सवारीसाधन तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन नहुँदा त्यहाँ सडक दुर्घटना उच्च दरमा हुने गरेका छन्।

सडक ट्राफिक व्यवस्थापन कार्यालयका तथ्याङ्कअनुसार सन् २०२५ मा दक्षिण अफ्रिकामा सडक दुर्घटनामा ११ हजार ४८५ जनाको मृत्यु भएको थियो।

यो अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतभन्दा बढीले कमी भए पनि सडक दुर्घटनाबाट हुने मृत्यु अझै गम्भीर सार्वजनिक सुरक्षा चुनौतीका रूपमा रहेको देखिन्छ। त्यसमध्ये सबैभन्दा बढी ज्यान गुमाउनेमा पैदलयात्री रहेका थिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.