काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार राति १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो।
मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको जनाएको छ।
यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ। मूल्य समायोजनपछि १४.२ केजीको एक सिलिन्डर ग्यासको मूल्य २ हजार ६० रुपैयाँ कायम भएको छ। यसअघि ग्यासको मूल्य २ हजार १६० रुपैयाँ थियो।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको मूल्य पनि घटेर आएपछि स्वदेशमा मूल्य समायोजन गरिएको हो।
मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई इन्धनको नयाँ मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ।
अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य पनि घटाइएको छ। काठमाडौंका लागि प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाएर १ हजार ५६६ अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भने ‘ब्रेकइभन पोइन्ट’ अर्थात् नाफा–घाटा नहुने बिन्दुमा मूल्य निर्धारण गरिएको छ। जसअनुसार पोखरामा प्रतिकिलोलिटर १ हजार १०० अमेरिकी डलर र भैरहवामा १ हजार ८५ अमेरिकी डलर कायम गरिएको छ।
नेपाल आयल निगमले पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव आए पनि विभिन्न कारणले स्वचालित मूल्य प्रणालीअनुसार पूर्ण रूपमा मूल्य समायोजन हुन नसकेको जनाएको छ। निगमका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको सुधारका कारण आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य घटेर आएपछि उपभोक्तालाई राहत हुने गरी मूल्य समायोजन गरिएको हो।




