काठमाडौँ । आज अन्तर्राष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२२ देखि प्रत्येक वर्ष जुन २४ लाई अन्तर्राष्ट्रिय कूटनीतिमा महिला दिवसका रूपमा मनाउन थालेको हो।
संयुक्त राष्ट्रसङ्घका अनुसार महिलाहरू अन्तर्राष्ट्रिय मामिलाका सहभागी मात्र नभई शान्तिका निर्माता, समानताका पक्षधर तथा विश्वव्यापी सहकार्यको भविष्य निर्माण गर्ने नेतृत्वकर्ता हुन्।
उनीहरूको आवाज, दृष्टिकोण र नेतृत्वले आजका जटिल विश्व चुनौतीहरूको समाधान खोज्न तथा समावेशी, न्यायपूर्ण र दिगो समाज निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
विश्वव्यापी अन्तरसम्बन्ध र बदलिँदो कूटनीतिक परिवेशका बीच निर्णय प्रक्रियाका सबै तहमा महिलाको पूर्ण, समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु समानताको विषय मात्र नभई प्रभावकारी विश्व शासनको आधारभूत आवश्यकता भएको राष्ट्रसङ्घले जनाएको छ।
बेइजिङ कार्ययोजना र दिगो विकास लक्ष्यहरूको प्रभावकारी कार्यान्वयनका लागि पनि महिलाको नेतृत्व र सहभागिता आवश्यक रहेको उल्लेख गरिएको छ।
राष्ट्रसङ्घका अनुसार महिलाहरू निर्णय लिने तहमा सहभागी हुँदा कूटनीति अझ प्रतिनिधिमूलक, समावेशी र प्रभावकारी बन्नेछ। यसले दिगो शान्ति, दिगो विकास तथा मानव मर्यादाको प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
विभिन्न कूटनीतिक नियोग, बहुपक्षीय संस्था तथा अन्तर्राष्ट्रिय वार्तामा महिलाहरूले संवाद, सहमति निर्माण, द्वन्द्व समाधान र अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धनमा निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
उनीहरूको नेतृत्वले राष्ट्रिय प्राथमिकता र विश्वव्यापी चुनौतीबीच पुलको काम गर्दै मानव अधिकार, सुरक्षा र साझा समृद्धिलाई अघि बढाउन सहयोग पुर्याएको राष्ट्रसङ्घले जनाएको छ।
राष्ट्रसङ्घका अनुसार यस दिवसले शान्ति र प्रगतिका लागि विविध अनुभव र आवाजको समावेशीकरण आवश्यक रहेको सन्देश दिन्छ। साथै महिला कूटनीतिज्ञहरूको योगदानको सम्मान गर्दै अवरोध हटाउने, अवसर विस्तार गर्ने तथा नयाँ पुस्ताका महिलालाई अन्तर्राष्ट्रिय नेतृत्वका लागि सक्षम बनाउने प्रयासलाई थप सुदृढ गर्न आह्वान गरिएको छ।
ऐतिहासिक रूपमा कूटनीतिक तथा अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा महिलाको सहभागिता सीमित रहे पनि पछिल्ला दशकहरूमा उनीहरूले विभिन्न अवरोध तोड्दै कूटनीतिक सेवा, अन्तर्राष्ट्रिय सङ्गठन र शान्ति प्रक्रियामा आफ्नो उपस्थिति उल्लेखनीय रूपमा विस्तार गरेका छन्।
यद्यपि, धेरै क्षेत्रमा महिलाको प्रतिनिधित्व अझै न्यून रहेको र समान सहभागिता सुनिश्चित गर्न थप प्रयास आवश्यक रहेको राष्ट्रसङ्घको भनाइ छ।
शान्ति निर्माण, मध्यस्थता र द्वन्द्व समाधानमा महिलाको अर्थपूर्ण सहभागिताले थप समावेशी र दिगो परिणाम ल्याउने उल्लेख गर्दै लैङ्गिक समानता र महिला सशक्तीकरणलाई दिगो विकास तथा समावेशी समाज निर्माणको आधारभूत तत्वका रूपमा व्याख्या गरिएको छ।
संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र पनि स्थायी प्रतिनिधि तथा राजदूतका रूपमा महिलाको उपस्थिति अपेक्षाकृत कम रहेको जनाइएको छ। कूटनीतिक सेवाका उच्च तहमा महिलाको सहभागिता अझै कमजोर रहेको उल्लेख गर्दै संरचनात्मक, संस्थागत र सांस्कृतिक अवरोध हटाई समान अवसर सुनिश्चित गर्न सबै पक्षलाई आग्रह गरिएको छ।
यस अवसरमा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना मोहम्मदले कूटनीतिमा महिलाको पूर्ण, समान र अर्थपूर्ण सहभागिता बिना प्रभावकारी विश्व शासन सम्भव नहुने बताएकी छन्। उनले निर्णय प्रक्रियाका सबै तहमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेकी छन्।



