चितवन। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन प्रचण्ड गर्मी र व्यवस्थापकीय कमजोरीका कारण अस्तव्यस्त बनेको छ।
करिब सात हजार नेता तथा कार्यकर्ता सहभागी रहेको महाधिवेशनमा दिनभर बन्दसत्र सञ्चालन हुन नसक्दा सहभागीहरू हलभित्रै अलपत्र र असहज अवस्थामा बस्न बाध्य भएका छन् ।
निर्धारित कार्यतालिकाअनुसार अघि बढ्नुपर्ने बन्दसत्र समयमै शुरू हुन नसकेपछि अन्ततः स्थगित गरिएको छ । अत्यधिक भीड, दर्ता प्रक्रिया र व्यवस्थापनमा देखिएको चुनौतीका कारण कार्यक्रम प्रभावित बनेको पार्टी स्रोतले जनाएको छ ।
महाधिवेशनमा अपेक्षाभन्दा बढी प्रतिनिधि सहभागी भएपछि आन्तरिक समन्वय र व्यवस्थापन झन् जटिल बनेको छ । यसै कारण बन्दसत्रको बाँकी कार्यसूची पछि सञ्चालन गर्ने गरी स्थगित गरिएको हो ।
दिनभर चर्को गर्मीमा बसिरहेका नेता तथा कार्यकर्ताहरू थकित र असहज देखिएका थिए। केही प्रतिनिधिहरू हलभित्रै थाकेर बसेका, केही बाहिर घुमघाममा निस्किएका, केही अनौपचारिक रूपमा रमाइरहेका र केही विश्राम लिइरहेका दृश्य देखिएका छन् ।
महाधिवेशन स्थलमा देखिएको अव्यवस्थाबीच केही नेताहरू तथा सहभागीहरू घुमघाम र अनौपचारिक गतिविधिमा देखिएको बताइएको छ। कार्यक्रम ढिलाइ र अव्यवस्थाका कारण सहभागीहरूबीच असन्तुष्टि र निराशाको भावना पनि झल्किएको छ।
महाधिवेशन स्थल नै छाडेर पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र साह परिवारसहित घुमघाममा निस्किए। यही मेसोमा केही मन्त्री विभिन्न क्षेत्रको अनुगमनमा निस्किएका थिए ।
पार्टी सभापति रवि लामिछानेलाई महाधिवेशन प्रतिनिधिको व्यवस्थापन गर्न र तिनलाई चित्त बुझाउन सकस परेको बताइन्छ । स्रोतका अनुसार विशेषगरि प्रतिनिधिका विषयमा प्रधानमन्त्री साह र सभापित लामिछानेबीच कुरा नमिलेका कारण समस्या भएको हो ।
शुरूमा चार हजार प्रतिनिधि सहभागी हुने भनिएकामा हाल चार हजार तीन सयभन्दा बढी प्रतिनिधि उपस्थित भइसकेको नेता मनिष झाले बताए । उनले अनुसार यो संख्या चार हजार आठ सयदेखि पाँच हजारसम्म पुग्नेसक्ने अनुमान छ। उनका अनुसार प्रवासबाट समेत अपेक्षाभन्दा चार गुणा बढी प्रतिनिधिको सहभागिता छ।
दिनभर बन्दसत्र शुरू हुन नसक्दा केही प्रतिनिधिहरू हलभित्रै मस्त निदाए भने केही मन्त्री र चर्चित अनुहार नाचगानमा सहभागी भए।
महाधिवेशन प्रभावित भएपछि कार्यतालिका नै प्रभावित बनेको छ र कार्यक्रम एक दिन लम्बिने सम्भावना देखिएको छ। आयोजक पक्षले बाँकी व्यवस्थापन मिलाएर बन्दसत्र सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ ।




