काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समाजमा पपुलिजम र एनार्किजमको प्रभाव बढ्दै गएको भन्दै यी दुवै प्रवृत्तिले विचारधारात्मक राजनीति र दीर्घकालीन सामाजिक विकासलाई कमजोर बनाउने बताएका छन्।
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यलाई पद हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरेलले अहिलेको राजनीतिक र सामाजिक वातावरण तत्कालीन मुद्दा र भावनामा केन्द्रित बन्दै गएको टिप्पणी गरे। उनका अनुसार पपुलिजम र एनार्किजमले समाजलाई भविष्यको स्पष्ट दिशाभन्दा पनि क्षणिक लोकप्रियताको पछि दौडाउन खोजिरहेका छन्।
पोखरेलले यी दुवै प्रवृत्तिले तत्कालका मुद्दालाई केन्द्रमा राखेर समाजलाई यथास्थितिमै राख्न खोज्ने दाबी गरे। उनका अनुसार यथास्थितिका पक्षपोषक भए पनि पपुलिजम र एनार्किजमले सबै समस्याको समाधान आफैंसँग रहेको जस्तो भ्रम सिर्जना गर्ने गरेका छन्।
उनले पछिल्लो समय ‘पुरानाले गर्न सकेनन्, नयाँलाई मौका दिनुपर्छ’ भन्ने भाष्य बलियो बन्दै गएको उल्लेख गर्दै वैकल्पिक राजनीतिले पनि स्पष्ट वैचारिक आधारबिना दीर्घकालीन सफलता हासिल गर्न नसक्ने तर्क गरे।
महासचिव पोखरेलले राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणका लागि क्षणिक लोकप्रियताभन्दा स्पष्ट विचार, सिद्धान्त र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेकोमा जोड दिए।




