काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष पुनः चर्किएको छ। संस्थापन र संस्थापन इतर पक्षबीच संवादको प्रयासहरू निरन्तर भइरहे पनि अविश्वास, आरोप-प्रत्यारोप र राजनीतिक प्रतिष्ठाको टकरावका कारण सहमतिको बाटो झन् अनिश्चित बन्दै गएको छ।
पार्टीभित्रको विवाद अब संगठनात्मक मात्र नभई नेतृत्वको वैधता र आगामी महाधिवेशनको दिशासमेत केन्द्रित बनेको देखिन्छ।
उपसभापति विश्वप्रकाश शर्माले संस्थापन इतर पक्षका शीर्ष नेताहरूलाई आफूले अघि सारेको सात बुँदे प्रस्ताव शान्त चित्तले अध्ययन गरी संवादमा आउन बारम्बार आग्रह गरेका छन्।
उनका अनुसार प्रस्ताव पठाइएको धेरै दिन बितिसक्दा पनि कुनै औपचारिक प्रतिक्रिया नआएको छ। उनले सबै पक्षलाई सम्मानजनक जिम्मेवारीमा समेटेर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन संस्थापन तयार रहेको दाबी दोहोर्याएका छन्। तर इतर पक्षभित्र भने उक्त प्रस्तावलाई गम्भीरतापूर्वक नलिएको आरोप पनि देखिएको छ।
उता विराटनगरमा आयोजित इतर पक्षको भेलामा नेता डा. शेखर कोइरालाले संस्थापनमाथि कडा आरोप लगाउँदै सभापति गगन थापाले स्वीकार गरेको भनिएको पाँच बुँदे सहमतिबाट पछि हटेर संस्थापनले लगातार कुरा फेरिरहेको दाबी गरेका छन्।
नेता कृष्णप्रसाद सिटौलाले पनि सात बुँदे प्रस्तावलाई ‘नाटक’ को संज्ञा दिँदै अस्वीकार गरेका छन्। यी अभिव्यक्तिले कांग्रेसभित्रको आन्तरिक अविश्वास अझ गहिरिएको देखिन्छ।
महाधिवेशन तयारीको केन्द्रमा रहेको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया पनि विवादकै विषय बनेको छ। संस्थापन पक्षले अद्यावधिक प्रक्रियामा सहभागी नभएकालाई महाधिवेशनमा भाग लिन नपाउने अडान लिएको छ भने इतर पक्षले यसलाई राजनीतिक दबाब र आन्तरिक प्रतिस्पर्धा कमजोर पार्ने रणनीति भन्दै विरोध जनाएको छ।
पार्टीभित्र संवादभन्दा टकराव बढ्दै जाँदा कांग्रेसभित्रको शक्ति सन्तुलन थप अस्थिर बनेको छ र सहमतिको राजनीतिक बाटो अझ टाढिँदै गएको संकेत देखिएको छ। यसले आगामी महाधिवेशनमा गहिरो प्रभाव पार्ने देखिन्छ। पार्टी नेतृत्वमाथि दबाब बढाएको छ।




