Nidan Media

जीप दुर्घटनामा दुई जनाको मृत्यु, चालकसहित तीन घाइते

काठमाडौँ । अछाममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार साँझ मध्यपहाडी लोकमार्ग अन्तर्गत पञ्चदेवल विनायक नगरपालिका–४ मा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका दुई जनाको सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिएका छन्।

उनका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका-५ का ४५ वर्षीय रामप्रकाश थारुको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो।

दुर्घटनामा घाइते चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-५ निवासी २८ वर्षीय राज राजेन्द्र भिमराज चट्टान गुप्ता र सिराहाको कल्याणपुर नगरपालिका-१० का २७ वर्षीय सन्तकुमार शाहको अवस्था गम्भीर रहेको छ। उनीहरूको सुर्खेतमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

स्याङ्जाको फेदीखोला नगरपालिका–४ का अर्जुनकुमार पौडेल घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको बताइएको छ।

प्रहरीका अनुसार जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.